काठमाडौं, १७ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको निर्माण प्रक्रिया छिट्टै अगाडि बढाउने प्रतिबद्धता जनाएका छन । आज (आइतबार) पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री बन्नुअघि दाहाल कांग्रेस नेतृत्वको सरकारको पालामा पनि निजगढ पुगेर विमानस्थल बनाउने वचन दिएका थिए ।
त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताएका छन् । मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । राष्ट्रको आजको आवश्यकता राजनीतिक स्थायित्व र सामाजिक न्याय भएको उनको भनाइ थियो ।
“विकास, समृद्धी र सुशासन आजको आवश्यकता हो”, मन्त्री पौडेलले भने । अर्थतन्त्रमा केही समस्या भए पनि काबूभन्दा बाहिर नरहेको उल्लेख गर्दै उनले यसलाई लयमा फर्काउने विश्वास व्यक्त गरे । पौडेलले नवनिर्मित विमानस्थललाई चितवन, भैरहवालगायतका गन्तव्यसँग जोड्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले आइतबार विमानस्थलको उद्घाटन गरेसँगै पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।
Photo By: Pradip Raj Onta/RSS