काठमाडौं, १८ पुष । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनचाहनाविपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने स्पष्ट पारेकी छिन् । आज (सोमबार) अक्युपाई टुँडिखेल अभियानले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापन पत्र बुझ्दै उनले अण्डरग्राउण्ड पार्किङ टुँडिखेलमा आवश्यकता हो वा होइन भन्ने बारेमा स्थानीयवासीको आवश्यक सुझाव लिएर मात्रै काम अघि बढाइने आश्वासन दिईन्।
उपमेयर डंगोलले धरहरा, काठमाडौं प्लाजा लगायतमा सञ्चालन हुने अण्डरग्राउण्ड पार्किङले सबै समस्या समाधान गरेको खण्डमा नयाँ संरचना बनाउन आवश्यक नै नरहेको बताइन्। उनले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउने वा नबनाउने भन्नेबारेमा भने सर्वसाधारणको सुझाव लिएर मात्रै महानगर अघि बढ्ने बताइन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम