काठमाडौँ,१८ पुष । नुवाकोटमा पछिल्लो दुई दिनमा तीन स्थानबाट सालको काठसहित दुईजना लाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ ।
शुक्रबार सूर्यगढी गाँउपालिका–३ को बिसमुरे भन्ने स्थानबाट ठूलो परिमाणको सालको काठसहित कटानमा संलग्न दुई जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । बिसमुरेबाट एकसय ९० गोलिया सालको काठसहित त्यसको कटानमा संलग्न रहेको अभियोगमा स्थानीयवासी चन्द्रबहादुर तामाङ र नन्दबहादुर तामाङलाई पक्राउ गरेर नुवाकोट जिल्ला अदालतबाट थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइएको छ ।
उक्त काठ काट्न लगाउने र ओसारपसारमा संलग्न सवारीसाधन फरार भएकाले खोजी भइरहेको डिभिजनल वन अधिकृत कोइरालाले जानकारी दिए । त्यस लगत्तै यही शनिबार राति ककनी गाउँपालिका–७ चतुराले हुदैँ लैजान लागेको ४२ गोलिया सालको काठ सव डिभिजन कार्यालय ककनीले पक्राउ गरेर कारबाहीको लागि आइतबार डिभिजन वन कार्यालयमा बुझाएको छ ।
जिल्लाको लिँखु गाउँपालिका–३ को सूर्यमतिमा कटान गरेर ककनीतर्फ लैजान लागेको उक्त काठ बोक्ने गाडी र संलग्न व्यक्ति भने फरार भएकाले खोजी भइरहेको बताइएको छ ।
यस्तै शुक्रबार सूर्यगढी गाउँपालिका–३ का वडाध्यक्ष पिङ्गलबहादुर थापामगरले सञ्चालन गर्दै आएको विनायक फर्निचरबाट एकसय छ थान चिरान गरेको सालको काठ डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उक्त काठ ‘वैधानिक हो’ भन्ने प्रमाण पेस गर्न काठ मिलका सञ्चालक थापामगरलाई डिभिजन वन कार्यालयले पत्र काटेको डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिए ।
नेपाल सरकारले विसं २०५८ देखि निजी जग्गाको सालको काठ काट्न पूर्णरुपमा प्रतिबन्ध लगाएको छ, भने सामुदायिक वनमा भने कार्ययोजना अनुसार कटान गर्न पाइने भनिएको छ । कटान र ओसारपसारको लागि वन कार्यालयको अनुमति अनिवार्य गरिएको छ ।
“पछिल्लो समयमा विभिन्न स्थानमा एकैपटक ठूलो परिमाणमा भेट्टिएको सालको काठ कटानको लागि अनुमति नलिएकाले देखिन्छ”, डिभिजन वन अधिकृत कोइरालाले भने । वनसँग सम्बन्धित मुद्दा हाल अदालतमार्फत कारबाही अघि बढ्ने भएकाले नियन्त्रणमा लिएका व्यक्ति र बरामद काठको कारबाही अघि बढाउन नुवाकोट जिल्ला अदालतमा पेस गरिएको छ ।
चोरी तस्करी रोक्न सामुदायिक वनको उपभोक्ता, प्रहरी, वन रक्षकसहित सरोकारवाला उपभोक्ता सहितको भूमिका प्रभावकारी बनाउन विशेष कार्ययोजना निर्माणको तयारीमा रहेको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ । रासस