Logo

जुनियर व्यक्ति उपप्रधानमन्त्री भएपछि सभामुख बन्न एमाले नेताहरुको लाइन



काठमाडौं, पुस २०। सत्ता गठबन्धनको भागबण्डाअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) को भागमा परेको सभामुख पदका लागि एमाले पार्टीभित्र लामो लाइन लागेको छ । शुरूमा मन्त्रीको दाबी गरेका एमाले नेताहरू उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लिएपछि एकाएक पछि हटेर सभामुख ताक्न थालेका हुन् ।

पार्टीले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्री बनाएपछि एमालेमा पटक–पटक मन्त्री भइसकेका नेताहरू सरकारमा सहभागी हुन अनिच्छुक देखिएका हुन् । सरकारको चौथो वरीयतामा भर्खर राजनीतिमा आएका रविलाई राखेपछि वरीयताक्रम अनुसार तल पर्ने पीरले पुराना नेताहरू मन्त्री हुन छाडेर सभामुखको पद ताक्न थालेका हुन् ।

एमालेका नेता विशाल भट्टराइले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि आफ्नो भागमा परेका पदहरूका सन्दर्भमा पार्टीले निर्णय गर्ने छ,’ उनले भने– ‘धेरै साथीहरू मन्त्री भएर जाने सोचमा हुनुहुन्थ्यो । अहिले उहाँहरू सरकारमा जुनियर व्यक्ति उपप्रधानमन्त्री भइसकेपछि व्यापक हुनुभएको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत लिने समय पुस २६ लाई तोकेसँगै एमालेभित्र सभामुख कसले पाउने भन्ने बारेमा अनौपचारिक छलफल शुरू भएको छ । माओवादीसँगको भागबण्डामा एमालेले राष्ट्रपति र सभामुख पाउने भएको छ ।

राष्ट्रपतिमा अलि वरिष्ठ नेता जानुपर्ने भएकोले एमाले नेताहरूले सभामुखमा आफ्नो भूमिका खोज्न थालेका हुन् । एमालेका वरिष्ठ नेताहरूमध्ये सभामुखमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य रघुजी पन्त र विद्या भट्टराई आकांक्षी रहेका छन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्