काठमाडौं, २० पुस । नेकपा (एकीकृत समाजवादी) का नेता भविश्वर पराजुलीले सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई सरकारमा औपचारिक रुपमा आमन्त्रण नगरेकाले कुनै निर्णय नगरेको बताएका छन् ।
‘हामीले सरकारमा जाने वा नजाने कुनै निर्णय गरेका छैनौं । भरखरै सम्पन्न स्थायी समिति र पोलिट ब्युरो बैठकमा भने सरकारमा जाँदा ठीक कि नजाँदा ठीक भन्ने आन्तरिक छलफल भएको थियो । धेरै कमरेडहरुले अहिलेको अवस्थामा सरकारमा जाँदा भन्दा सरकारबाहिर रहेर पार्टी निर्माणका लागि जनतामा जानु उचित हो भन्ने सुझाव दिनुभएको छ । यसको अर्थ हामी यो गठबन्धनमा सामेल हुँदै हुँदैनौं भन्ने पनि होइन । साझा न्यूनतम कार्यक्रम हेरेर के गर्ने भन्न सकिन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पराजुलीले भने ।
यससम्बन्धी निर्णय गर्ने अन्तिम अधिकार पार्टी सचिवालयलाई दिइएको पनि उनले औंल्याए । पार्टीभित्र सरकारमा जानुपर्ने दबाब हुनु स्वभाविक भएको पनि उनले बताए । पार्टीले राष्ट्रिय मान्यता नपाए पनि १० जना सांसद अर्को पार्टीमा जाने सम्भावना नरहेको उनको दाबी छ ।
नेता पराजुलीले तत्काल कुनै पार्टीविशेषसँग एकता गर्नेभन्दा पनि बृहत् वाम एकता जरुरी भएको पनि बताए । उनले थपे, ‘पार्टी विद्रोहलगत्तै हाम्रो पार्टीले नेकपा एमाले, माओवादी केन्द्र, जसपा आदि पार्टी विशेषसँग एकता गर्ने भन्दा पनि बृहत् वाम एकता वा मोर्चामा जोड दिइरहेको छ । हामी समाजवाद निर्माणका लागि कम्युनिस्ट, देशभक्त र क्रान्तिकारीहरुलाई एकजुट बनाउने अभियानमा लागेका छौं । अहिलेको अवस्थामा कसैसँग पनि एकता हुँदैन । यसबारे पार्टीमा आधिकारिक छलफल भएको पनि छैन ।’
चुनावमा राष्ट्रिय पार्टी भएन भन्दैमा एकल पार्टी जाने कि एकता गर्ने भन्ने फैसला नहुने उनको दाबी छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना नगर्न निर्देशन दिएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा पराजुलीले भने, ‘कम्युनिस्ट पार्टीमा आलोचना वा आत्मालोचना भनेको पार्टीलाई जीवन्त बनाएर अघि बढाउने प्रक्रिया हो । तर कतिपय विषयमा पार्टीको विधि अनुसार छलफल गर्न सकिन्छ ।’