Logo

प्रचण्डले विश्वासको मत लिँदै गर्दा उपेन्द्र र राजेन्द्र देउवासँग ! निधि दिल्लीमा



काठमाडौं २२ पुष । नेकपा (मा‌ओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मतलिने समय नजिकिदै जाँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव पछिल्ला केही दिनहरुमा देउवासँग संवादमा रहिरहेका छन्।

पुष २६ गते विश्वासको मतलिने तयारी गरिरहेका प्रचण्ड सातदलको समर्थनमा पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सरकारलाई समर्थन गरेको मध्ये एक दल राप्रपाले सत्ता गठबन्धन छोडेर अर्को सरकार बन्ने सम्भावना भयो भने कांग्रेसले राप्रपालाई प्रधानमन्त्रीसहित बागमती प्रदेशमा मुख्यमन्त्री र अन्य पदहरूमा पनि सहमति गर्न सक्ने प्रस्ताव गरेको छ।

यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष यादवपनि आफ्नो पार्टीबाट उपराष्ट्रपति बनाउने लबिङमा छन्। यादव बारा-२ बाट निर्वाचित सांसद रामसाहय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएर आफू त्यो क्षेत्रमा उपनिर्वाचन लड्न चाहेका छन्।

सत्ता गठबन्धनबाट राप्रपा र जसपालाई बाहिर ल्याउन कांग्रेस सभापति देउवाले अधिकतम प्रयास गरिरहेका छन्।

यसैबीच हिजो मात्रै दिल्ली पुगेका नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिपनि आजदेखि भेटघाटमा ब्यस्त रहेका छन्। उनलाई भारतिय जनता पार्टी(भाजपा)ले पछिल्लो राजनीतिक अपडेटका लागि दिल्ली बोलाइएको बताइएको छ। देउवाले प्रचण्डलाई विश्वासको मतबाट रोक्ने रणनीति बुनिरहेका बेला निधिको दिल्ली भ्रमणलाई अर्थपूर्ण मानिएको छ।



प्रतिक्रिया दिनुहोस्