काठमाडौं, पुस २९ । विशेष अदालत काठमाडौंले ७८ लाख घुस प्रकरणमा मुछिएका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकलाई दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय फैसला सुनाएको छ ।
विशेष अदालत अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले अख्तियारका पूर्वआयुक्त पाठक र नेपाल इन्जिनियरिङ कलेजका लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र जनही ३९ लाख जरिमाना हुने फैसला सुनाएको हो ।
साथै, भ्रष्टाचार निवारण ऐनअनुसार तीन वर्ष र अख्तियारको बहालवाला आयुक्त भएकाले थप तीन महिना कैद गर्ने फैसला सुनाएको छ ।
पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा ७० लाखभन्दा धेरै घुस लिएको खुलासा भएपछि उनी विवादमा तानिएका थिए । सो प्रकरण बाहिरिएपछि पाठकले पदबाट राजीनामा दिएका थिए ।
पाठकले राजीनामा दिएपछि अख्तियारले उनीविरुद्ध घुस रिसवतमा अनुसन्धान गरी ७८ लाख रुपैयाँ बिगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । साथै, आयोगले पाठकको हकमा ‘पदमा बहाल रहेकै अवस्थामा भ्रष्टाचार गरेको’ भन्दै थप सजाय मागसमेत गरेको थियो । राजधानी दैनिकबाट