बखतियार अलि
सर्लाही, माघ ७ । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको निर्माण कार्य कछुवाको गतिमा भईरहेको जनगुनासो बढेपछि जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंहले आज आफै हुलाकी राजमार्गको अनुगमन गर्नु भएको छ ।
जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहा, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम सहित ३ तहका सुरक्षा प्रमुख लगायत नागरिक समाजका अगुवा शिवचन्द्र चौधरी, संचारकर्मी सहितका टोलीले हुलाकी राजमार्ग निर्माण कार्यको स्थलगत अनुगमन गर्नु भएको हो ।
गएको मंसिरमा भएको सर्वदलिय बैठकमा ठेकेदार कम्पनीका संचालक चन्द्रिका साहले राजमार्गको निर्माण कार्य किन ढिलाई भईरहेको छ, यस प्रश्नको जवाफमा ठेकेदार साहले साईट क्लियर नभएका कारण सडक बनाउन नसकेको बताएपछि प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सोही बैठकमा सम्बन्धित पालिका प्रमुख तथा सरोकारवालाहरुलाई साता दिन भित्रमा हुलाकी राजमार्गमा मापदण्ड विपरित बनाईएको अवैध संरचनाहरु खाली गराउन निर्देशन दिनु भएको थियो ।
सर्लाही जिल्लाको पश्चिममा पर्ने पर्सा गाउपालिका देखि ब्रह्म्पुरी गाउपालिका हुदै मलंगवा नगर पालिका देखि पुर्वमा कौडेना गाउपालिका तथा गोडैता नगरपालिका सम्मको अवैध संरचना हटाएको महिना दिन बित्न लागदा समेत राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको निर्माण कार्यमा बिभिन्न बहाना झिकि ठेकेदार कम्पनीले ढिलाई गर्न थालेपछि जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंह सहितका टोली आज हुलाकी राजमार्ग निर्माण स्थलको अनुगमन गरि ठेकेदार चन्द्रिका साहलाई बैशाख मसान्त भित्रमा निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनु भएको छ ।
मधेश प्रदेश भरिमा हुलाकी सडकको निर्माण कार्य सके पनि सर्लाहीमा वर्षै देखि हुलाकी सडकको निर्माण कार्य अलपत्र परेपछि यहाका जनता निरास भएको छ । वर्षा याममा हिलाम्मे र सुख्खा याममा ढुलाम्मे सडकका कारण यहाका जनता सास्ती भोग्दै आएको छ ।
मधेश प्रदेशको मुटु मानिने हुलाकी सडक निर्माण नहुदा दिन्हु जसो गाडी दुर्घटनामा यहाका जनता ज्यान गुमाउदै आएको छ । दिनरात हजारौको संख्यामा हुलाकी सडक भएर चल्ने गाडीहरुका कारण दिउसै अन्धयारो हुने गरि उडने ढुलोका कारण ओहरदोहर गरिने सवारी साधनहरु तेतिकै ठोकिन्छ, भने सडक छेउमा बसोवास गर्ने स्थानीयहरु ढुलोका कारण व्यापक रुपमा स्वास्थ्य समस्या भोगि रहेको स्थानीयहरु बताउछन ।
राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग निर्माणमा केन्द्र सरकार प्रदेश सरकार र स्थानीय सरकार ३ तहका सरकारले समेत उदासिनता देखाएको आम जनताको आरोप छ । कयौ दशक देखि बन्दै आएको हुलाकी सडक निर्माण भएको देख्ने ईच्छा अब हराउन थालेको हो, स्थानीयहरु दुखेसो पोखेका छन ।