Logo

जनताका मुद्धा छोड्दा प्रचण्डको नायकत्वको धार कमजोर भयो- राजकिशोर यादव (भिडियोसहित)



काठमाडौं, ८ माघ । जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले जनताको मुद्धा छाडेर आफू रुपान्तरण हुँदा प्रचण्डको नायकत्वको धार कमजोर भएको टिप्पणी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देशको आमूल परिवर्तनका लागि प्रचण्डको रुपमा उदय भएको नायकत्वमा अहिले पुष्पकमल दाहाल हाबी भएको बताएका हुन् । ‘यो देशको आमूल परिवर्तन, तमाम् प्रकारका शोषण, उत्पीडन र विभेदको मुक्तिको खातिर नायकत्व प्रचण्डको उदय भएको थियो । यो चौध वर्षको यात्रामा अहिले पनि उहाँले अभूतपूर्व विश्वासको मत पाउनु भएको छ तर यसपटक उहाँ प्रचण्ड भन्दा पुष्पकमल दाहाल बन्ने त होइन् भन्ने आशंका छ,’ उनले भने ।

नेपालमा रहेको विभेदमा आधारित राज्यसत्ता र सबै प्रकारका विभेदको निमूर्लीकरणका लागि अगाडि बढेका प्रचण्डले चौंध वर्षको अन्तरालमा प्रधानमन्त्री बन्दै गर्दा आत्मालोचना गरेर विश्वासको मत मागेपनि सरकार गठन र सञ्चालनमा उनी चुकेको उनले आरोप लगाए । प्रचण्ड नेतृत्वको सरकारमा दलितहरुको उपस्थिति, मुसलमानहरुको उपस्थिति सम्मानजनक नभएको भन्दै यसले आफूहरुलाई सशंकित बनाएको बताए ।

फरक प्रसंगमा उनले जनतासँग गरेको प्रतिबद्धता पुरा गर्ने वातावरण बनेमात्रै आफ्नो पार्टी सरकारमा जाने अन्यथा एकथान मन्त्रीका लागि सरकारमा सहभागी हुनुको औचित्य नभएको बताए । ‘सरकारमा जाने के का लागि ? सरकारमा जाने अवसर मात्र होइन । जनता समाजवादी मुद्धामा आधारित पार्टी भएको हुनाले हामीले जनतासँग प्रतिबद्धता गरेको जिम्मेवारी पुरा गर्ने अवस्था भए हामी सरकारमा गएर जिम्मेवारी बहन गर्न तयार छौं । होइन भने एकथान मन्त्रीका लागि सरकारमा जाने हाम्रो क्ुनै प्रकारको मनसाय छैन,’ उनले भने ।

सुविधा भोग गर्न र अवसरका लागि सरकामा जान नखोजेको बताउँदै उनले जनताको सेवाको लागि मात्र आफूहरु सरकारमा जाने बताए । जसपा अहिले एक ढिक्का रहेको उनले बताए । कुनै बेला प्रचण्ड प्रधानमन्त्री बन्दा गाउँबस्तीका भुपडीमा आशा जागेको स्मराण गर्दै उनले आज तिनै प्रचण्डले जनताको मुद्धा छोड्दै आफूलाई रुपान्तरण गर्दा प्रचण्डको नायकत्वको धार कमजोर भएको बताए । मधेशले प्रचण्डसँग बढी अपेक्षा गरेको पनि उनले बताए । २०७४ को निर्वाचनको स्मरण गर्दै उनले मधेशको प्रचण्डमाथि लगानी रहेको बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्