Logo

जनताका काम द्रुत गतिमा गर्नुपर्छ- मन्त्री मोदी



काठमाडौं, १५ माघ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मुलुकमा सुशासन कायम गर्न राष्ट्रसेवक कर्मचारीले जनताका काम द्रुतगतिमा गर्नुपर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा कार्यालय प्रमुखहरूलाई आज उनले निर्देशन दिँदै सुशासन कायम गर्न भ्रष्टाचारमुक्त बनाउने धारणा राखे । उनले भ्रष्टाचारमा शून्यसहनशीलता अपनाउने भन्दै कर्मचारीहरूले बिचौलियाको माध्यमबाट काम गरिरहेको गुनासो सुनिए पनि मेरो अवधिमा त्यस्तो सुन्न नपरोस् भनी निर्देशन दिए । मन्त्री मोदीले निर्देशन दिँदै जनताका आशाका केन्द्र रहेको वर्तमान सरकारको नीति तथा कार्यक्रमलाई आधार मानेर काम गर्न भने ।

उनले सुगममा काम गर्ने कर्मचारीलाई दुर्गम र दुर्गममा काम गर्ने कर्मचारीलाई सुगममा पठाउने भन्दै बरण्डामा बस्ने र घाम तापेर बस्ने कर्मचारीहरूलाई काममा लगाइने धारणा राखे । मन्त्री मोदीले कार्यालयको निर्धारित समयमै कर्मचारीहरू हाजिर भई काम गर्नुपर्ने निर्देशनसँगै कार्यालयको शौचालय र सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए ।उनले कर्मचारीहरूलाई भ्रष्टाचारमुक्त हुन र सुशासन कायम राख्न निर्देशन दिँदै कसैको प्रभावमा नपरी सरकारप्रति उत्तरदायी भएर काम गर्न आग्रह गरे । मन्त्री मोदीले स्थानीय तहका कर्मचारीको विषयमा व्यापक गुनासो आइरहेको यस सन्दर्भमा अनुसन्धान एवं अध्ययन भइरहेको भन्दै सङ्घीय निजामती ऐन ल्याउन प्रधानमन्त्रीबाट निर्देशन भइसकेको बताए । उनले सङ्घीय निजामती ऐनका सन्दर्भमा पूर्वप्रधानमन्त्रीसँग पनि छलफल भइरहेको उल्लेख गरे ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जिल्ला वस्तुस्थितिका बारेमा जानकारी दिँदै जनतालाई सहज ढङ्गले सेवा प्रवाह हुने प्रतिबद्धता व्यक्त गरे । प्रजिअ भट्टराईले राष्ट्रसेवक कर्मचारीहरू कानूनको परिधिभित्र रहेर काम गर्नुपर्ने भन्दै जनतालाई अनुभूति दिलाउने किसिमको काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot