Logo

रवि लामिछानेको प्रशंसा गर्दै यादवले भने–उहाँले चमत्कार नै गर्नुभएको छ (भिडिओसहित)



काठमाडौं, १६ माघ । जनता समाजवादी पार्टीका प्रभावशाली नेता, पूर्वमन्त्री एवम् सांसद राजकिशोर यादवले रवि लामिछानेको नागरिकतासम्बन्धी विवादबारे सर्वोच्च अदालतबाट जारी पछिल्लो फैसलालाई सम्मान गर्नुपर्नेमा जोड दिए । उनले फैसलाको बारेमा टिकाटिप्पणी गर्नु मुनासिफ नभएको तर्क गरे । यादवले रवि लामिछानेले छोटो समयमा दल निर्माण गरेर निर्वाचनमा प्राप्त गरेको सफलता चर्चा गर्नयोग्य रहेको भन्दै प्रशंसा गरे ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘उहाँले छोटो समयमा दल दर्ता गरेर निर्वाचनमा जुन सफलता हाँसिल गर्नुभयो । नेपाली राजनीतिमा यसमा अध्ययन र खोजबीन भयो भने यो नौलो घट्नाको रुपमा हुनेछ । उहाँले चमत्कार नै गरेको मान्न सकिन्छ । अहिले जुन घट्ना घटित भएको छ, अदालतको फैसला आईसकेको छ । फैसलाको टिकाटिप्पणी गर्नु त्यति मुनासिफ हुँदैन् । रविजीले अगाडि कसरी बढ्नु्हुन्छ, उहाँको पार्टी र सभापति भएको नाताले राजनीति के गर्दा राम्रो हुन्छ, त्यो त उहाँको स्वविवेकमा भरपर्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै यादवले विधि र थितिको अनि कानूनी राज्यमा बस्ने भएकोले सबैले कानूनी राज्यको पालना गर्नुपर्नेमा जोड दिए । उनले अब कसरी अघि बढ्ने भन्ने विषयमा सत्ता गठबन्धनमा सम्वाद होला भन्ने टिप्पणी गरेका छन् । उनले भने,‘अहिलेको सरकारमा रविजीको पनि दल छ, उहाँले समर्थन गर्नुभएको छ, सत्ता घटकमा सम्वाद होला । सत्ता गठबन्धन कसरी अघि बढ्ने भन्नेबारेमा उपयुक्त निर्णयमा पुग्ला । भोलिको दिनमा कसरी अघि बढ्ला, त्यो त थाहा भैहाल्छ नि ।’

रवि लामिछानेको सवालमा उनले लिएको अडान र देखेको सपना कसरी पुरा गर्न सकिन्छ भन्नेबारे उनले नै सोच्नुपर्ने यादवको भनाई छ । उनले भने,‘उहाँको देश र जनताको हितमा चाल्ने कदमप्रति हाम्रो सहयोग रहनेछ । काम हेरेर हाम्रो समर्थन वा विरोध हुन्छ । बहुदलीय व्यवस्थामा सहकार्य र विरोध कामको आधारमा गर्नुपर्छ । हामीपनि कामको आधारमा विरोध वा समर्थन गर्छौं।’

उनले अहिले युवाहरु संसद्मा आएको उल्लेख गर्दै संसद्मा अहिलेको कम्पोजिसनले आशा जगाएको पनि सुनाए। ‘अब संसद् दुई÷चार जना नेताको निर्णयको बन्धकी हुँदैन् । त्यहाँ हेल्थी छलफल हुन्छ । प्रक्रियाको नाममा, जसरी राज्य सञ्चालन भैरहेको छ, उनीहरु जनताप्रति संवेदनशील भएनन् । यसप्रति मिडियाले घच्घचाउनुपर्छ । सरकारलाई जनउत्तरदायी बनाउनेबारे हाम्रो भूमिका हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्