काठमाडौं, १७ माघ । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठकमार्फत गृहमन्त्री नियुक्तीको निर्णय लिने भएको छ । हिजोबाट सुरु भएको पदाधिकारी बैठक आजपनि बस्ने भएको छ । आजको बैठकमा गृहमन्त्रालयमा पार्टीलाई कसलाई पठाउने भन्नेबारे निर्णय हुने एक नेताले जानकारी दिए ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले हिजोको पदाधिकारी बैठकमा ने गृहमन्त्रालय अब आफ्नै दलले राख्नेबारे ब्रिफिङ गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले भने सरकार गठनको बेलामा भएको सहमतिबमोजिम आफ्नै दलले गृहमन्त्रालय पाउनुपर्ने अडान लिएको छ । सभापति रवि लामिछानेले त आज प्रधानमन्त्री दाहाललाई भेटेर गृहमन्त्रीमा आफूलाई नै नियुक्त गर्न आज साँझ ५ बजेसम्मको अल्टिमेटम दिएका छन् ।
साँझ ५ बजेसम्म आफूलाई गृहमन्त्रीमा नियुक्त नगरिए सरकारबाट बाहिरिने उनको चेतावनी छ । प्रधानमन्त्री दाहालले भने रविको उक्त अल्टिमेटमलाई धम्कीको रुपमा लिएका छन् । उनले रविलाई आजको भेटमा पनि गृहमन्त्रालय कुनैपनि हालतमा अब दिन नसकिने स्पष्ट जवाफ दिएका छन् । दाहाल लामिछानेको पासपोर्टसम्बन्धी विवाद कायमै रहेकोले उक्त विवाद हल नभएसम्म गृहमन्त्रालयको नेतृत्व सुम्पन नसक्ने अडानमा छन् ।
माओवादीनिकट उच्च स्रोतका अनुसार दाहालले आजकै पदाधिकारी बैठकमार्फत पार्टीबाट कसलाई गृहमन्त्री बनाउनेबारे निर्णय लिने तयारी गरेका छन् । एक नेताले भने–आजको पदाधिकारी बैठकले गृहमन्त्री नियुक्तीबारे निर्णय लिन्छ । प्रधानमन्त्रीज्यू एक्शनमा उत्रिनुभएको छ । आजै उहाँले केही निर्णय लिनुहुन्छ ।’