काठमाडौं, २२ माघ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले लोकतन्त्र, गणतन्त्र र संघीयताविरुद्ध संसदमै आवाज उठ्नु खतराको संकेत भएको बताएका छन् ।
‘अहिले सरकार बनाउने नाममा भ्यागुतोको धार्नीजस्तो गरी समीकरण खडा भएको छ । त्यसकारण संसदमै लोकतन्त्र, गणतन्त्र र संघीयताविरुद्ध आवाज उठ्नु खतराको संकेत हो । खुट्टा अगाडि तान्ने र पछाडि तान्ने शक्तिहरुबाट सरकार कसरी चल्छ ? मुलुक कसरी चल्छ ? सत्ता समीकरण भनेको त मुलुकलाई अग्रगति लाने हिसाबले पो हुनुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खनालले भने ।
तपाईं पनि राष्टपति बन्न चाहनुभएको हो भन्ने धमलाको प्रश्नमा उनले भने, ‘अहिले सबैको ध्यान राष्ट्रपतिको चुनावमा केन्द्रित भएको छ । त्यसका निम्ति व्यापक ध्रुवीकरणको आवश्यकता छ । राजनीतिक दलहरु खासगरी वामपन्थीहरु लोकतन्त्र बुझेको राम्रो व्यक्तित्व पहिचान गरेर राष्ट्रपति पदमा पुर्याउने हिसाबले जान सक्नुपर्छ । राजनीतिक पार्टीहरुले त्यस अनुसार दिमाग ठन्डा र खुला राखेर मूल्यांकन गरे भने त्यो कार्यभार पूरा गर्न मैले विचार गर्नुपर्छ । यो पनि महत्त्वपूर्ण कार्यभार हो ।’ तर उनले साझा व्यक्तित्वका नाममा गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु जरुरी नभएको औंल्याए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानी विवादमा समयमै ध्यान दिएर निर्वाचनमा जानुपर्नेमा त्यसो गर्न नसक्दा पार्टीको छविमै नकारात्मक असर गरेको पनि खनालले बताए । उनले भने, ‘रविजी नवोदित युवा नेताका रुपमा स्थापित हुन सक्नुपर्थ्र्यो । पछिल्लो प्रकरणले उहाँको इमेजमा धक्का लाग्थ्यो । अब उहाँले पार्टीको इमेज बनाउनेतर्फ सोच्नुपर्ने हुन्छ । यो वा त्यो पद पाउनुपर्छ भनेर लाग्ने हो भने पार्टीको भविष्यमै धक्का लाग्छ ।’
पार्टी केन्द्रीय समितिको जारी पाँचौं बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवदेनमा व्यापक छलफल गरी पार्टी गठनको १७ महिनाको समीक्षा भइरहेको पनि उनले बताए । जनता समाजवादी पार्टीसँग कार्यगत एकता हुने पनि उनले औंल्याए ।