काठमाडौं, २२ माघ । जनता समाजवादी पार्टीका नेता तथा सांसद डा. विरेन्द्र प्रसाद महतोले जनताले भाषण नभएर परीणाम खोजेको भन्दै सोहीअनुसार सबैले भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठकको विशेष समयमा बोल्दै डा. महतोले यस्तो बताएका हुन् ।
उनले मुलुक अहिले राजनीतिक एवम् आर्थिक रुपले संकटमा रहेको पनि उल्लेख गरेका छन् । उनले भने,‘जनता महँगीको मारमा छन् । हाम्रा अन्नदाता किसान त झन ठूलो मारमा छन् । किसानले समयमै मल, खाद्य नपाउनु समस्या त थियो नै, अहिले उत्पादनले बजार मूल्य नपाउँदा कृषकहरु सडकमै तरकारी फाल्न बाध्य भएका छन् । दैनिक हजारौं युवाहरु परिवार पाल्ने उद्देश्यले विदेशिन बाध्य छन् । राज्य टुलुटुलु हेरेर बसेको छ । मुलुकमा सरकार छ भन्नेपनि अनुभुति हुन छाडेको छ । जनताले प्रोसेस हेर्ने होईन, रिजल्ट हेर्ने हो ।’
उनले सदमा ठूला ठूला प्रतिबद्धता जाहेर हुने गरेको भएपनि अहिलेसम्म ती प्रतिबद्धता कार्यान्वयन नहुँदा जनता निराश भएको स्मरण गराए । उनले भने,‘कागजमा धेरै कुरा हामी बनाउन सक्छौं । बनाईराखेका छौं । तर, व्यवहारमा उतार्न सकिरहेका छैनौं ।’
उनले किसानहरुले आफ्नो उत्पादनको बजार मूल्य नपाएर सडकमा तरकारी फालिरहेको भन्दै उनीहरुलाई यस्तो बाध्यतामा कसले पुर्याएको हो ? भन्दै प्रश्न गरे । उनले भने,‘सरकारले पुर्याएको होईन र ?’ उनले मधेशी जनताका लाखौं छोराछोरी अहिले नागरिकताविहीन भएको र उनीहरु आधारभूत सुविधा लिनबाट पनि बञ्चित भएको गुनासो पोखे । यथाशक्य नागरिकता विद्येयक जारी गर्नको लागि पनि उनले माग गरे । उनले देशमा राष्ट्रियताको सवालमा राजनीति गरिनु दुःखद् भएको पनि टिप्पणी गरे । महतोले संविधानमाथि प्रहार नगर्नपनि सरकारमा रहेका मन्त्रीहरुलाई आग्रह गरेका छन् ।