Logo

जसपा र नेकपा एस फकाउँदै प्रधानमन्त्री



काठमाडौं, माघ २५ । सात दलीय गठबन्धन सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउने कसरत थालेका छन् ।

सरकारले पूर्णता पाएको एक महिना नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि पाँच मन्त्रालय मन्त्रीविहिन भएको सरकारमा प्रधानमन्त्री दाहालले नयाँ दल भित्र्याउन लागेका हुन् ।

सरकारबाट रास्वपाको बहिर्गमनसँगै प्रचण्डले जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन गृहकार्यका लागि कुराकानी थालेको माओवादी केन्द्रका नेताहरुले बताएका छन् । दाहालले सोमबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यस विषयमा छलफल गरेका थिए भने मंगलबार बिहानसमेत सरकार सञ्चालन र साझा सहमतिको राष्ट्रपति बनाउने विषयमा दुई शीर्ष नेताबीच छलफल भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

माओवादी केन्द्रका एक नेताले भने– ‘सरकारबाट रास्वपा हटेपछि कुनै पनि बेला समर्थनसमेत फिर्ता लिन सक्ने आँकलन गर्दै प्रधानमन्त्री प्रचण्डले जसपा र समाजवादीलाई मन्त्रिपरिषद्मा सहभागी गराउन पहल शुरु गरिसकेका छन् । त्यसका लागि उपप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।’

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको हुनाले उनीहरुलाई रास्वपाको विकल्पमा सरकारमा सहभागी गराउन राजनीतिक रूपमा सहज हुने माओवादीको निष्कर्ष छ । जसपा यसअघि नै मन्त्रिपरिषद्मा सहभागी हुन इच्छुक भए पनि भागवण्डा नमिलेपछि रोकिएको थियो । सरकारमा सहभागिताको विषयमा संवाद हुने चरणमा रहेको जसपाका एक नेताले बताए । उनले भने– ‘हाम्रा एजेन्डामा प्रधानमन्त्री सहमत भए हामी सरकारमा जान अप्ठ्यारो छैन ।’

हाल गृह, शिक्षा, श्रम तथा रोजगार, वन तथा वातावरण र युवा तथा खेलकुद गरी पाँचवटा मन्त्रालय रिक्त हुन पुगेका छन् । प्रधानमन्त्रीले पाँच मन्त्री र एक राज्यमन्त्रीसमेत नियुक्त गर्न सक्ने भएकाले ती मन्त्रालयमा जसपा र नेकपा (एकीकृत समाजवादी) लाई अटाउन सकियो भने सरकारले सहजरूपमा काम गर्न सक्ने नेताहरु बताउँछन् ।

माओवादीले अहिलेको अवस्थामा सरकारलाई समर्थन गरेका सबै दल सरकारका सहयात्री भएको समेत दाबी गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्