काठमाडौं, २५ माघ । अभियन्ता युवराज पौडेल सफलले काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको पासपोर्टबारे अनुसन्धान गर्न हिजो (मंगलबार) निवेदन दिएका छन् । उनलाई सरकारी वकिलको कार्यालयले बिहीबार थप बुझबुझारथका लागि बोलाएको छ ।
‘रवि लामिछानको पासपोर्ट अनसुन्धानका लागि निवेदन दिन जाँदा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि म सरकारी वकिलको कार्यालयमा गएको हुँ । मैले सबै फाइल पेस गरेको छु । कार्यालयले मलाई बिहीबार बोलाएको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
कानुनी रुपमा राष्ट्रिय पार्टीको दर्ता खारेज भइसकेको पौडेलको दाबी छ । उनले थपे, ‘पार्टी दर्ताका लागि २१ जनाको हस्ताक्षर चाहिन्छ । सभापतिको नागरिकता खारेज भयो । एक जना अयोग्य भएपछि कानुनतः पार्टीको दर्ता खारेज हुन्छ ।’
निर्वाचन आयोगको पार्टी दर्ता खारेज नगरे आफू केही दिनभित्र सर्वोच्च अदालत जाने पनि पौडेलले बताए । उनले भने, देशद्रोही, गुरिल्ला र अराजक भीडको जत्थाले सामाजिक सञ्जालमा जिउँदै मान्छेलाई श्रद्धाञ्जली दिइरहेको छ । रवि लामिछानेका घाँसहरुले भनेका कुराबाट म पटक्कै विचलित भएको छैन । मलाई अझै गाली गर्न आग्रह गर्छु ।