Logo

खगराज भट्टलाई धमलाको प्रश्न– सुदूरपश्चिम प्रदेश सरकार ढल्न लागेको हो ?



काठमाडौं, २५ माघ । सुदूरपश्चिम प्रदेशका मन्त्री खगराज भट्टले प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन् ।
‘हामी प्रदेश सरकारले विश्वासको मत पाउनेमा आशावादी छौं । हामी बहुमत माननीय सदस्यको समर्थनमा सरकारमा पुगेका हौं । हिजो जसरी बहुमत पुग्यो, आज पनि त्यसरी नै विश्वासको मत आउँछ भन्नेमा विश्वस्त छौं । जहाँसम्म नागरिक उन्मुक्ति पार्टीको कुरा हो, उसले पनि विश्वासको मत दिन्छ भन्ने लागेको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टले भने ।
नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनमा आफ्नो अडान दृढतापूर्वक राख्न खोज्नु जायज भएको पनि उनले बताए । भट्टले भने, ‘उन्मुक्ति पार्टीले प्रदेश सरकारलाई विश्वासको मत नदिने अन्तिम निष्कर्ष निकालेको हामीलाई लागिरहेको छैन । उसका मागलाई शीर्ष तहमा नेताहरु बसेर संयोगान्त रुपले हल गर्नुपर्छ ।’
रेशम चौधरीको मुद्दा न्यायिक निरुपणसँग सम्बन्धित विषय भएकाले प्रदेश सरकारले केही गर्न नसक्ने पनि उनले औंल्याए । मन्त्री भट्टले भने, ‘रेशम चौधरीको मुद्दामा झगडिया झिकाउने आदेश सर्वोच्चले दिएको छ । उहाँलाई प्रदेश सरकारले रिहाइ गर्न सक्ने कुरा होइन हामीले पहल कदमी गरिदिने मात्र हो । यो प्रदेश सरकारको भन्दा पनि राज्यको कुरा हो । हाम्रो पार्टी उहाँहरुको समस्यामा गम्भीर, संवेदनशील र सकारात्मक छ । टीकापुर र अन्य घटनाका सम्बन्धमा न्याय दिने ढंगमा राजनीतिक समाधानमा खोज्न लागेका छौं । प्रधानमन्त्रीज्यूले निरन्तर प्रयास गरिरहनुभएकै छ ।’
अब सुदूरपश्चिममा माओवादीको नेतृत्वमा सरकार बन्ने सम्भावना छ कि छैन भन्ने पत्रकार धमलाको प्रश्नमा मन्त्री भट्टले भने, ‘राजनीतिमा सबै प्रकृतिका सम्भावना जीवित हुन्छ । यो सरकारले विश्वासको मत पाउन नसके माओवादी, कांग्रेस वा एमालेको नेतृत्वमा सरकार बन्न सक्ला । भविष्यको कुरा वर्तमानमा कुरा गर्न गाह्रो छ । अहिले हामीले यही सरकारलाई निरन्रता दिने पक्षमा छौं । सदूरपश्चिम प्रदेश सभामा सभामुखसहित ५३ सदस्य छन् । विश्वासको मतका लागि प्रदेश सरकारलाई २७ सांसदको समर्थन चाहिन्छ ।’



प्रतिक्रिया दिनुहोस्