Logo

चोभार बन्दरगाहमा पार्किङ सेवा सञ्चालन



काठमाडौं, माघ २८ । काठमाडौंको चोभारमा रहेको सुक्खा बन्दरगाह (ड्राइपोर्ट) लजिस्टिक हबका रूपमा सञ्चालनमा आएको छ । व्यापार सहजीकरण गर्ने उद्देश्यसहित विश्व बैङ्कको सहयोगमा निर्माण भएको यो बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेपछि यहाँ निर्माण भएको पूर्वाधार प्रयोगमा ल्याउन पार्किङ स्थल र गोदाम सञ्चालनमा ल्याइएको हो ।

गत वर्ष चैत २२ गतेदेखि सञ्चालनमा आए पनि प्रभावकारी रूपमा सञ्चालनमा नआउँदा शुक्रबारदेखि पार्किङ स्थल र गोदाम सञ्चालनमा ल्याएको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिको सञ्चालक समितिको अध्यक्षसमेत रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य) मधुकुमार मरासिनीको अध्यक्षतामा बसेको समिति सञ्चालक समितिको बैठकले आन्तरिक टर्मिनल सञ्चालनका लागि दररेट स्वीकृत गरी सो टर्मिनल सञ्चालन आएको हो ।

यो सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनलमा १५० वटा सवारीसाधन पर्किङ क्षमता, एक हजार २९६ वर्गमिटर क्षमताको एउटा गोदामघर, ८० मेट्रिक टन क्षमताको सवारी नापतौल, लोडरअनलोड सेड, चालक तथा कामदारका लागि शौचालय आदिको व्यवस्था छ ।

आयात–निर्यातकर्तालाई सडक किनारामा सवारीसाधन रोकी मालसामान पल्टी गर्नुपर्ने, चर्को मूल्यमा गोदाम शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य भई सहज रूपमा पार्किङ, लोडरअनलोड, गोदामघर आदिको सुविधा उपलब्ध हुने भएको हुँदा मालसामान आयात निर्यातकर्तालाई बन्दरगाह प्रयोग गरी लाभ लिन सक्ने समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुक्खा बन्दरगाहको ८५ रोपनी जग्गालाई लजिस्टक हबका रूपमा विकास गरी सञ्चालन ल्याएको जानकारी दिनुभयो । बन्दरगाहमा भएको पूर्वाधारलाई अधिकतम प्रयोग गर्न न्यूनतम शुल्क राखेर पार्किङ, गोदाम प्याकेजिङ स्थल सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।

४० फिट बराबरको क्षमता भएको कन्टेनरको सामान लोडरअनलोड गरेको वार्षिक छ हजार रुपैयाँ र २० फिट बराबरको क्षमता भएको कन्टेनरको चार हजार रुपैयाँ शुल्क निर्धारण गरिएको समितिले जनाएको छ । एक दिन मालवाहक सवारीसाधन पार्किङ गरेको एक सय रुपियाँ पार्किङ शुल्क निर्धारण गरिएको छ ।

गोदामका लागि प्रतिवर्गफिटरप्रतिमहिना ४५ रुपैयाँ शुल्क निर्धारण गरिएको छ । सामान प्याकेजिङ गर्ने स्थलसमेत निर्धारण गरिएको छ ।

व्यापार सहजीकरण गर्ने उद्देश्यका साथ बन्दरगाह निर्माण गरी सञ्चालनमा आएको १० महिनासम्म पनि प्रभावकारी रूपमा सञ्चालन नहुँदा पूर्वाधारको अधिकतम प्रयोग गर्न बन्दरगाहलाई लजिस्टिक हबका रूपमा विकास गरिएको हो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्