Logo

मुलुक नितिगत भ्रष्टाचारमा लिप्त, श्रमजिवि हक अधिकारप्रति सरकार गैरजिम्मेवार



बुटवल,२८ माघ । मुलुकमा शान्ति प्रक्रिया आएपछि धेरै परिवर्तन नआएका होइनन् । धेरै पटक सत्ता परिवर्तन, नेतृत्व र हरेक निति सिद्धान्तका विगुल जनता माझ दलका नेताहरुले निकै प्रचार समेत गर्न भ्याए । सोही श्रमजिवि वर्गको उत्थान गरिने बुँदाहरु सुनेर र देखेर आमनागरिकहरु पनि दलप्रति विश्वास राख्दै आए ।

तर, परिवर्तन ल्यायौ भनेर निकै चर्चा गर्न नछोड्ने दलका नेताहरुले श्रमजिवि वर्गहरुको हकहितका लागि उल्लेखित कुनै सिंको समेत भाँच्न नसकेको संयुक्त ट्रेड युनियन समन्वयन समितिका केन्द्रिय अध्यक्ष विनोद श्रेष्ठले जिकिर गरे । नेपालको वर्गिय आन्दोलन कमजोर बन्दै जानुको मुख्य जिम्मेवार सरकार नै भएको ठोकुवा गरे ।

रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेश बुटवलले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै अध्यक्ष श्रेष्ठले श्रमिकको नजरबाट हेर्दा सरकार छ कि छैन भनेर सोच्नु पर्छ भन्दै यदी छ भने त्यो कि अन्धो छ, कि त्यो बहिरो छ भने । श्रमजिवि वर्गहरुको सम्मान र अधिकार स्थापित गर्ने सिंहदरवारको शासक र शासन परिवर्तन फेरिए पनि श्रमिकको अवस्था उस्तै रहेको दावी गरे । उनले देशमा जुनै दलका सरकार बने पनि सत्तामा रहेका बेला शासकहरु सामन्ती बनेको आरोप लगाए ।

उनले भने, नेपालमा नितिगत भ्रष्टाचार मौलाउँदै गएको बताउँदै अदालतले पनि श्रमिकले पाउने १० प्रतिशत पाउने सेवाशुल्क कटौती गरेकाले थप श्रमिकहरुमा मारमा परेको दुख व्यक्त गरे । जसको फाईदा होटल व्यवसायीलाई पुगेको छ ।

आफु बाँके र कैलालीमा गएको वेला होटलहरुले श्रमिकको कटौती शुल्कलाई मेनुमा राखेर परिकारहरुको मुल्य बढाएर लेखेको गुनासो गरे । उनले देशमा स्थिर सरकार नबन्दा श्रमिकका मुद्धाहरु सधै ओझेलमा परेको बताउदै सरकारले श्रमिकका अधिकारप्रति ध्यान नदिए कडा रुपमा सडक आन्दोलनमा उत्रिने चेतावनी दिए ।

साक्षात्कारमा नेपाल ट्रेड युनियन महासंघ केन्द्रिय उपाध्यक्ष कमल गौतमले बढ्दै गएको बेथिती र मजदुरका हकअधिकारलाई सरकारले ध्यान नदिए राज्य विरुद्ध सडकमा उत्रिन बाध्य हुने बताए ।

उनले सामाजिक सुरक्षाको मुद्धालाई कार्यान्वयन गर्न देशभरी बिभिन्न कार्यक्रम र आन्दोलनका तयारी तिव्र पारिएको उल्लेख गरे । कार्यक्रम रिपोर्टर्स क्लव नेपालका लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्