ललितपुर, माघ २९ । ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा मुलुककै पहिलो ‘फ्लाइओभर’ निर्माण सुरु भएको छ। सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले निर्माण गरिने स्थलको कालोपत्रे उप्काएर ‘ग्रेट सेप्रेटेड इन्टरसेक्सन’को शनिबार निर्माण सुरु गरिएको जानकारी र्दिए।
उनका अनुसार ‘फ्लाइओभर’ निर्माणसँगै सो क्षेत्रमा हुन सक्ने ट्राफिक जाम व्यवस्थापनका लागि समेत सुरु गरिएको छ। ट्राफिक व्यवस्थापन तथा सजिलोका रूपमा सवारीसाधन आवागमनका लागि शुक्रबार राति सो क्षेत्रअन्तर्गतको चक्रपथमा राखिएका डिभाइडर हटाइएको छ।
फ्लाइओभर निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ गतेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिने भएको छ।
त्यसैगरी कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारीसाधनलाई ग्वार्को चोकभन्दा छ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने र बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिनेछ।
चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा ‘फ्लाइओभर’ निर्माण गरिने बताउँदै सोहीक्रममा ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण गर्न लागिएको उनले बताए। उनका अनुसार सबै प्रकारका सवारीसाधन आवतजावत हुन सक्ने यो ‘फ्लाइओभर’ चार लेनको हुनेछ।
निर्माणपछि यस चोकमा चक्रपथका सवारीसाधन ‘फ्लाइओभर’ भएर तथा पाटन र ग्वार्कोलगायतका ठाउँबाट आउने सवारीसाधन ‘फ्लाइओभर’मुनिबाट पार हुनेछन्। ‘फ्लाइओभर’को कुल लम्बाइ ४५५ मिटर हुनेछ भने यसको ‘ग्राउन्ड क्लियरेन्स’ ६ मिटर हुनेछ। सो ‘फ्लाइओभर’को उचाइ ५.५ मिटरको हुनेछ। ओभरपासमा सवारीसाधन चढ्नका लागि दायाँतर्फ १८० मिटर र बायाँ ११० मिटरको ‘(याम्प’ निर्माण गरिनेछ। गोरखापत्र दैनिकबाट