काठमाडौं, १ फागुन । रेडियोकर्मी डा. भूमि चापागाईंले स्थानीय मुद्दा उठान र दोहोरो अन्तर्क्रियाका कारण रेडियोको सान्दर्भिकता रहेको बताएका छन् ।
‘आज विश्व रेडियो दिवस हो । रेडियो भनेको स्थानीय माध्यम हो । स्थानीय सूचना प्रवाहका लागि यो निकै प्रभावकारी छ । अरु माध्यमलाई छायामा पारेजस्तो लागे पनि फेसबुक सञ्चारमाध्यम होइन । कम स्रोत र थोरै तयारीमा रेडियोजस्तो दोहोरो अन्तर्क्रिया हुने माध्यम अरु छैनन् । अझै पनि रेडियोको सान्दर्भिकता छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
डा. चापागाईंले रेडियोका श्रोता कहिले पनि स्थिर नहुने औंल्याए । उनले भने, ‘अहिले धेरैथरी मिडिया छन् । मिडिया कम्युनिटीमा नयाँ भेहिकल आउँदा पेसेन्जर बाँडिनु स्वाभाविक हो । रेडियोका श्रोता स्थिर छैनन् । भूकम्पका बेला हवात्तै बढेको थियो । कोरोनाका बेला रेडियोबाटै आवश्यक प्राप्त हुन्थ्यो । निर्वाचनका बेला पनि त्यो बढ्छ । अरु बेला सामान्य हुन सक्छ ।’
राज्यले रेडियोप्रति उदार भएर नीतिगत स्पष्टता ल्याउनुपर्ने उनको धारणा छ । डा. चापागाईंले भने, ‘सञ्चार मन्त्रालयले २०५४ सालयता ७४० वटा रेडियो लाइसेन्स बाँडेको छ । राष्ट्रिय प्रसारण ऐनले तीन किसिमका रेडियो बनाउने व्याख्या त गरेको छ । तर त्यसलाई नियमन गर्ने कुरामा अन्योल नै छ । साप्ताहिक पत्रिकालाई सरकारले लोककल्याणकारी सूचना र सन्देश प्रकाशन गरेबापत महिनैपिच्छे सहयोग गर्छ तर रेडियोलाई वर्षको एकचोटि न्यून सहयोग मात्र दिन्छ । राज्य रेडियोप्रति उदार हुनुपर्छ, नीतिगत स्पष्टता सबैभन्दा ठूलो कुरा हो ।’