Logo

हात्ती पीडित जनतालाई उचित राहत दिनुपर्ने भन्दै मेचिनगर नगरपालिका–४ का वडाअध्यक्ष कार्की मिडियामा (भिडिओ)



काठमाडौं, १ फागुन । मेचीनगर नगरपालिकाका वडा नम्बर ४ का वडाअध्यक्ष अर्जुन कार्कीले हात्ती पीडित जनतालाई उचित राहत प्रदान गर्न सरकारसमक्ष माग गरेका छन्। आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनले बाहुनडाँगी क्षेत्रका हात्ती पीडित जनतालाई उचित राहत र दीर्घकालीन समस्या समाधानका लागि सरकारसमक्ष आग्रह गरेका हुन् ।

हात्ती पीडित जनतको राहतका लागि स्थानीय सरकारले केही मल्हमपट्टीको प्रयास गरेपनि त्यो पर्याप्त नभएको उनको भनाइ छ । मानव हात्तीको सह–अस्तित्व कायम गरेर अगाडि बढ्न सकेमात्रै राम्रो हुने उनले बताए । हात्ती आतंकको कारण बालबालिकाको शिक्षामासमेत नकारात्मक असर परेको उनले बताए ।

‘मानव र हात्तीको सहअस्तित्व कायम गरेर जानुपर्छ भनेर हामी लागिरहेको परिप्रेक्ष्यमा मान्छेले हात्ती मार्ने र मान्छेद्धारा हात्ती मारिने अलग–अलग घट्ना छन् । तर, मेचीनगर नगरपालिका बाहुन डाँगी क्षेत्रको घटना भने अलि फरक छ । त्यो हात्तिहरु दिनभरी भारतको कोलाबारी फरेस्टमा बस्छन् र राती भएपछि नेपालतिर आएर अन्नबाली, जनधनको क्षति गरेको छ । अहिलेसम्म हामीले स्थानीयस्तरबाट सानातिना मल्हमपट्टीको काम गरेपनि तिनीहरुको परिवारको शिक्षा दीक्षा, स्वास्थ्य स्थिति के छ, उनीहरुको आयआर्जन के छ भन्ने बारेमा राज्यको ध्यान नपुगेको हुँदा राज्यले हात्तीबाट मारिएका अथवा घाइते भएकाहरुलाई ठोस राहतको व्यवस्था गर्न म राज्यसँग आग्रह गर्न चाहन्छु,’–उनले भने ।

हात्ती र मान्छेलाईसँगै कसरी बाँच्ने र बचाउने भन्नेबारेमा कार्यक्रम तय गरी त्यहाँका जनताबीचमा लैजान पनि उनले सरकार समक्ष आग्रह गरेका छन् । हात्ती आतंकका कारण आफूहरुले चाडबाड राम्रोसँग मनाउन र चेलिबेटीहरुको समेत विवाह हुन गार्हो भएको उनको भनाई छ । हात्तीलाई बोझको रूपमा नभएर पर्यटनसँग जोडेर मोजको रुपमा लिने वातावरण निर्माणका लागि उनले सरकारसँग आग्रह गरे ।

‘हामीले हात्तीलाई बोझको रुपमा होइन, यसलाई मोजको रुपमा विकास गर्न जरुरी छ । मोजको रुपमा कसरी लाने त भन्दा यसलाई हामीले टुरिजमको रुपमा विकास गर्नुपर्छ । हामीले बजारमा देख्छौं एउटा बाँदर खेलाउनेले, एउटा सपेराले आफ्नो पाँच/सात जना परिवार पालिरहेको हुन्छ । हामीसँग भएका हात्तीलाई पर्यटनसँग जोडेर विभिन्न कार्यक्रम गरिनुपर्छ,’उनले भने ।

आफूहरुले मानव र हात्तीबीचको द्वन्द्वलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर लागिपरेको उनले बताए । स्थानीय तहको सानो पहलले मात्रै समस्या समाधान नभएको भन्दै सिंहदरबारको ध्यानाकर्षण गराउन आफू मिडियामा आएको कार्कीको भनाई छ । हात्तीबाट बाली जोगाउन त्यहाँका जनताले तोरी लगाएको र त्यसको बजारीकरण र व्यवस्थापन चिन्ताको विषय बनेको पनि उनले बताए ।

साथै, आगामी चैत्र ९ देखि ११ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा ग्रामिण पर्यटन महोत्सव आयोजना गर्न लागिएको पनि उनले जानकारी गराएका छन् । महोत्सवमा ग्रामिण क्षेत्रका उत्पादन, स्वस्थ्यकर खानेकुरा र ह्याण्डिक्राफ्टहरु प्रदर्शनमा राखिने उनले बताए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्