काठमाडौं, फागुन २ । नेपाल–बेलायत दौत्य सम्बन्ध कायम भएको शतवार्षिकीको अवसर पारेर बेलायतबाट उच्चस्तरीय भ्रमण हुने भएको छ ।
नेपालका लागि बेलायतकी राजदूत निकोला क्याथ्रिन पोलिटले बेलायतले उच्चस्तरीय भ्रमण तालिका तय गरेको जानकारी दिए । प्रतिनिधि सभा सभामुख देवराज घिमिरेसँग बेलायतकी राजदूत क्याथ्रिनले सोमबार सभामुखको कार्यकक्ष सिंहदरबारमा भेटवार्ता गरेका थिए । उच्चस्तरीय भ्रमणले नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ हुने बताउँदै राजदूत क्याथ्रिनले भ्रमणबारे जानकारी दिएका थिए ।
सभामुख घिमिरेका सञ्चार सल्लाहकार शेखर अधिकारीले उच्चस्तरीय भ्रमणबारे थप जानकारी प्राप्त नभइसकेको बताए । नेपाल र बेलायतबीच सन् १९२३ मा दौत्य सम्बन्ध कायम भएको थियो । तर कूटनीतिक सम्बन्ध भने सन् १८१६ मै सुरु भएको हो ।
कूटनीतिक सम्बन्ध कायम भएको दुई सय वर्ष पूरा भएको अवसर पारेर बेलायती राजसंस्था वेल्स ह्यारीका राजकुमार हेनरी, अन्तर्राष्ट्रिय विकासमन्त्री रोरी स्टिवर्टले नेपालको भ्रमण गरेका थिए ।
भेटमा सभामुख घिमिरेले संसदीय व्यवस्थाको जननी बेलायतको संसदीय अभ्यासबाट नेपालले अनुभव आदान–प्रदान गर्न उत्साहित रहेको बताएका छन् । गोरखापत्र दैनिकबाट