Logo

भारतीय विदेशसचिव क्वात्राले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको निम्तो दिएनन्



काठमाडौं, २ फागुन । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्रा आज स्वदेश फर्किँदैछन् । नेपाल बसाईको क्रममा महत्वपूर्ण भेटवार्ता काठमाडौं ओर्लिएकै दिन सम्पन्न गरेका क्वात्राले आज अन्य दलका नेताहरुसँग भेटवार्ता गरेका हुन् ।

क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएपछिको यो पहिलो नेपाल भ्रमण हो । उनी नेपालका लागि भारतीय राजदूतको जिम्मेवारीमा रहेकै बेला विदेशसचिवमा नियुक्त भएका थिए । उनलाई नेपाल मामिलाका जानकारका रुपमा लिईन्छ । नेपाल भ्रमणको क्रममा विदेश सचिव क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको निम्तो दिने कुराकानी थियो ।

तर, प्रधानमन्त्री दाहालसँगको बालुवाटारको भेटवार्तामा भने भ्रमणको निमन्त्रणा दिनेबारे क्वात्राले कुनै शब्द नै उच्चारण नगरेको पाईएको छ । नेपालमा फागुन २५ गते राष्ट्रपतिको निर्वाचन छ । त्यसअघि भ्रमणको निम्तो दिनु हतारको निर्णय हुने भारतीय सत्ता पक्षको बुझाई छ ।

प्रधानमन्त्री दाहालले आफू पहिलो विदेश भ्रमणको रुपमा भारत नै जाने खुलासा गरिसकेका छन् । भारतीय विदेशसचिव क्वात्राले प्रधानमन्त्री दाहाललाई तत्कालै नयाँ दिल्लीमा स्वागत गर्ने सम्भावना नरहेको बुझिएको छ । राष्ट्रपतिको निर्वाचनलगत्तै दाहालको दिल्ली भ्रमणको मिति सार्वजनिक हुनसक्ने गाईँगुँई चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्