काठमाडौँ,३ फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ का दीपकप्रसाद सापकोटाले रु तीन करोडको लगानीमा सुरु गरेको टेक्सटायल उद्योग रु १२ करोड नोक्सानी व्यहोरेर बन्द गर्नुप¥यो ।
व्यवसायलाई पुनः निरन्तरता दिँदै उहाँले हाल सूर्यमुखी तेल, एसिड लगायतका सामान उत्पादन गरिरहेका छन् । उद्योगका लागि कच्चापदार्थको अभाव देखिन थालेपछि यो उद्योग पनि बन्द हुने अवस्था रहेको सापकोटाले बताए । “अहिले देशको आर्थिक अवस्था यस्तै हो कि उद्योगमैत्री वातावरण नभएर हो, उद्योग सञ्चालन खर्च पूरा गर्न पनि गाह्रो छ, यो पनि कहिलेसम्म सञ्चालन गर्न सकिने हो चिन्ताको विषय बनेको छ”, उनले भने ।
अर्का व्यवसायी सुकबहादुर दराईले गैँडाकोट–७ मा सञ्चालन गर्नुभएको दालमोठ उद्योगमा रु एक करोडभन्दा बढी घाटा भएपछि उद्योग बन्द गरे । उद्योग बन्द गरे पनि ऋण तिर्न बाँकी नै भएपछि उहाँले तीन बिघाहा जमिन पनि बेचे । “उद्योग पूरै घाटामा गयो”, दराईले भने, “उद्योगको ऋण तिर्न नै जमिन बेच्नु प¥यो, तर राज्यले हाम्रो समस्या बुझेन ।”
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा अहिले छ हजारभन्दा बढी उद्योग सञ्चालनमा छन् । जिल्ला उद्योग सङ्घ नवलपुरका अनुसार कोरोना महामारीपछि जिल्लाका २० प्रतिशत उद्योग बन्द भएका छन् । सरकारले लगानीमैत्री वातावरण नबनाउँदा उद्योगी, व्यवसायी उद्योग, व्यवसाय बन्द गर्ने मनसायमा पुगेका छन् भने आर्थिक सङ्कटका कारण मानसिक तनाव पनि बढ्दै गएको उद्योग वाणिज्य सङ्घका महासचिव छविलाल कँडेलले बताए ।