Logo

अस्पतालको बेडमा रहेका कांग्रेस नेता भण्डारीले गुमाए आमा



काठमाडौं, फागुन ४ । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी कांग्रेस सांसद डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा ८७ वर्षीया आमा हरिकलाको पौने ११ बजे निधन भएको हो ।

आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ । कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ ।

गएराति बुद्धनगरस्थित घरमा ग्यास विस्फोट भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएको बताइएको छ ।

घाइते भण्डारीलाई उपचारका लागि भारतको मुम्बई लगिने भएको छ। कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भण्डारीलाई उपचारका लागि श्री एयरलाइन्सको जहाजबाट बिहीबार नै मुम्बई लाने तयारी भएको बताएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले पनि भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी भएको जानकारी दिएका छन्।

मन्त्री गिरी भण्डारीलाई भेट्न कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्। उनले सरकारले सबै उपचार खर्च व्यहोर्ने गरी भण्डारीलाई मुम्बई लाने तयारी भएको बताएका छन्।

 



प्रतिक्रिया दिनुहोस्