काठमाडौं, ८ फागुन । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक केही पर सर्ने भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनको लागि पोखरा पुगेका छन् । दाहाल काठमाडौं फर्किएलगत्तै माओवादीको पदाधिकारी बैठक बस्ने भएको छ । यसअघि पदाधिकारी बैठक आज अपरान्ह ४ बजे बस्ने तय भएको थियो ।
तर, प्रधानमन्त्री काठमाडौं फर्किनेबित्तिकै माधव नेपाल र उपेन्द्र यादवसँग पनि छलफल गर्ने कार्यक्रम भएकोले पदाधिकारी बैठक एक घण्टा सर्नसक्ने बुझिएको छ । माओवादीले आजको बैठकमार्फत राष्ट्रपतिको निर्वाचनबारे औपचारिक निर्णय लिने हल्ला छ । हिजोमात्रै कांग्रेस नेताहरुले प्रधानमन्त्री दाहालसँग बालुवाटार पुगेर भेटवार्ता गरेका थिए ।
सो भेटवार्तामा उनीहरुले राष्ट्रपतिको निर्वाचनमा आफ्नो दलले उठाउने उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका छन् । दाहालले कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावलाई सकारात्मक रुपमा लिएका छन् । र, आजको पार्टी पदाधिकारी बैठकमा सो प्रस्ताव राख्ने वचन दिएका छन् ।
उता, एमालेले भने राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने अडान लिएको छ । प्रधानमन्त्रीमा दाबी गर्न शितलनिवास जानुअघि नै प्रचण्डले राष्ट्रपति एमालेलाई दिने सहमति गरेको एमाले नेताहरुको दाबी छ । अहिले सहमति कार्यान्वयन गर्ने बेलामा प्रचण्ड पन्छिन खोजेको उनीहरुको आरोप छ ।