काठमाडौं, ८ फागुन । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै प्रमुख दलका शीर्ष नेताहरुले आ–आफ्नो तयारी अघि बढाएका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले अहिले केहीबेरमा पदाधिकारी बैठकमार्फत सोबारे निर्णय लिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा साझा सहमति खोजिने बताउँदै आएका छन् । तर, हिजो (आइतबार) कांग्रेस नेताहरुसँगको भेटमा भने उनले कांग्रेसको उम्मेदवारलाई सघाउने संकेत गरेका छन् । त्यसभन्दा अघि उनले राष्ट्रपतिमा माधव नेपालको पनि नाम चर्चामा ल्याएका थिए । खासगरी माधव नेपाल आँफै राष्ट्रपतिको लागि सक्रिय भएका छन् ।
उनले सुषुप्त रुपमा आफ्नो तयारी अघि बढाएको प्रचण्डले संकेत गरेका छन् । कांग्रेस नेताहरुसँगको भेटअघि माधव नेपालले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए । सो भेटमा उनीहरुबीच राष्ट्रपतिकै निर्वाचनबारे छलफल भएको बताईएको छ । प्रचण्डले कांग्रेस नेताहरुसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा माधव नेपाललाई अघि सारे आफू दबाब पर्नेबारे संकेत गरेका थिए ।
माधव नेपाललाई राष्ट्रपति बनाउन ओलीले चाहँदैनन् भन्नेमा कांग्रेस ढुक्क छ । कतिपय कांग्रेस नेताहरुले एमालेलाई देखाएर प्रचण्डले माधव नेपाललाई आँफै अघि सार्न खोजेका त होईनन् भनेर पनि आशंका व्यक्त गर्न थालेका छन् ।
नेकपा (एकीकृत समाजवादी) बाट यसअघि राष्ट्रपतिमा झलनाथ खनालको नाम चर्चामा थियो । तर, हिजोबाट भने माधव नेपालपनि राष्ट्रपतिको निर्वाचनको रिङमा देखा परेका छन् । file photo