Logo

पाँच वर्षभित्र एकपटक माधव नेपाल प्रधानमन्त्री बन्ने, उपराष्ट्रपति जसपालाई



काठमाडौं, फागुन ११ । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले नयाँ राष्ट्रपतिको उम्मेदवार तय गर्न राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन्। राष्ट्रपतिको उम्मेदवारी दिने मिति नजिकिएसँगै प्रमुख दलका शीर्ष नेताहरू मात्र होइन, विभिन्न शक्ति राष्ट्रका काठमाडौंस्थित प्रतिनिधिले पनि दलीय भेटलाई तीव्रता दिएका छन्।

पुस १० गतेको समझदारी अनुसार एमालेलाई राष्ट्रपति नदिने निष्कर्षमा पुगेको माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा ( एकीकृत समाजवादी) बीच प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनअघिको गठबन्धनलाई ब्युँताउने समझदारी गरेको नेताहरूको दाबी छ।

राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने आश्वासन माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार साँझ कांग्रेस नेताहरुसँगको भेटवार्तामा नै दिईसकेका छन् । सोमबार बसेको पार्टी पदाधिकारी बैठकबाट राष्ट्रपतिबारे निर्णय लिने अधिकार आफैंले लिएका दाहालले बुधबार साँझ कांग्रेस नेताहरूसँगको भेटमा निर्वाचनअघिको पाँच दलीय गठबन्धनलाई ब्युँताउने समझदारी गरेको स्रोतको दाबी छ।

बैठकमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेट्नेबारे छलफल भएको छ। त्यसका लागि आज बहुपक्षीय छलफल हुने र संसदको यही कार्यकाललमा माधवकुमार नेपालाई एक पटक प्रधानमन्त्री बनाउने र जसपाबाट संसदीय दलका नेतामा निर्विरोध निर्वाचित भएका रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिमा पठाउने सहमती भएको छ । रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि खालि रहने बारा निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गरेर उपेन्द्र ससंदीय यात्रामा आउने तयारी रहेको बुझिएको छ ।

राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने र माओवादी नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिनेसहितका विषयमा भएको समझदारीमार्फत संविधान र लोकतन्त्र पक्षधर शक्तिहरू विगतमाजस्तै मिलेर अघि बढ्नुपर्नेमा नेताहरुले जोड दिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्