Logo

‘सामाजिक रुपान्तरणको विश्वासिलो माध्यम सहकारी’



काठमाडौँ,१२ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी अभियानलाई आर्थिक सामाजिक रुपान्तरणको विश्वासिलो आधारका रुपमा अघि बढाउन सहकारीको दीर्घकालीन रणनीतिमा जोड दिएको छ ।

सहकारी अभियन्तासँगको अन्तरक्रियामा मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी क्षेत्रलाई सुसंस्कृत, मर्यादित र कानूनको परिपालनामा अब्बल बनाउन कोसिस भइरहेको बताए । उनले भने, “देशको अर्थतन्त्रको एउटा खम्बाको रुपमाा रहेको सहकारी संविधानले परिकल्पना गरेको समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न, दिगो विकास लक्ष्य हासिल गर्न र बहुआयामिक गरिबी सूचकको सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने सामथ्र्य रहेको छ ।”

नयाँ सोच र सुसंस्कृत परिपाटीका साथ सहकारी अभियान अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले समुदायमा आधारित विकासको मूल मुद्दामा केन्द्रित सहकारी संस्था समन्यायिक विकासमार्फत देशमा आर्थिक सामाजिक रुपान्तरण गर्ने क्षमताले युक्त र भरोसायुक्त क्षेत्र रहेको बताए ।

सो अवसरमा सहभागी वक्ताले सहकारीमा नकारात्मक प्रवृत्तिको नियन्त्रणका लागि अनुशासन र कानुनको परिपालना गरेका सहकारीलाई प्रोत्साहन अहिलेको आवश्यकता रहेको बताए । केही सहकारी संस्थामा देखिएको विकृतिले सारा सहकारी आरोपित हुने स्थितिको अन्त्य गर्न सहकारी संस्थाका सङ्घ महासङ्घ सक्रिय हुनुपर्ने सो अवसरमा सुझाव दिइयो । रासस

 

 



प्रतिक्रिया दिनुहोस्