काठमाडौं, १२ फागुन । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिमा दाबी गरिरहेको छ । उसले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको रुपमा अघि सारेको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई राष्ट्रपतिको लागि प्रस्ताव राखेका थिए । तर, नेपालले ओलीको प्रस्ताव प्रष्ट रुपमा नआएको भन्दै पार्टीभित्र छलफल गरेका थिए । उनी पार्टीको सचिवालय बैठकपछि कांग्रेस नेतृत्वको पूरानो पाँच दलीय गठबन्धन व्युँताउनेगरि सक्रिय भएका हुन् ।
हिजोमात्रै उनले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए । सो छलफलमा राष्ट्रपतिमा माधव नेपाललाई अघि सार्ने निश्कर्ष निकालिएको थियो । आजको बालुवाटारको चार दलको बैठकमा पाँच दलीय गठबन्धन व्युँताउने सहमति भएको छ । र, शक्ति सन्तुलन पनि मिलाउनेगरि छलफल भएको नेताहरुको दाबी छ ।
राष्ट्रपतिमा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) दुवै दलको दाबी छ । आजै साँझ ५ बजे बस्ने बैठकमा सोबारे निर्णयमा पुगिने बैठकमा सहभागी कांग्रेस महामन्त्री गगनकुमार थापाले स्पष्ट पारेका छन् । बालुवाटारको बैठकपछि नेकपा (एस) का नेताहरु उत्साही छन् । बालुवाटारनिकट स्रोतले जनाएअनुसार आजको बैठकमा राष्ट्रपतिको उम्मेदवारमा प्रधानमन्त्री दाहालले नेपालको नाम अघि सारेका थिए ।
जसमा जसपाका अध्यक्ष यादवको पनि समर्थन थियो । कांग्रेस नेताहरुले भने राष्ट्रपति आफ्नो दलले लिने र पाँच वर्षको सरकारमा माओवादी र नेकपा (एकीकृत समाजवादी) ले चार र एक वर्ष सरकारको नेतृत्व गर्नेगरि सहमति गर्न सकिने प्रस्ताव राखेको खुलेको छ । बालुवाटारको बैठकपछि अहिलेको सत्ता गठबन्धन भत्किने निश्चित् भएको नेताहरुको दाबी छ । file photo