काठमाडौं, १२ फागुन । राष्ट्रपतिको निर्वाचनको लागि साझा उम्मेदवार तय गर्ने र सत्ता सहकार्यकोलागि पावर सेयरिङ गर्ने भन्दै कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा (एकीकृत समाजवादी) को बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा आजै राष्ट्रपतिको उम्मेदवारबारे सहमति गर्ने बताईएको छ । यसअघि प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई घण्टा लामो छलफल गरेका थिए ।
सो छलफलमा ओलीले राष्ट्रपतिमा माधव नेपालको नाममा सहमति भएर आए आफ्नो दलले पनि समर्थन गर्ने बताएका छन् । सो क्रममा दाहालले नेकपा व्युँताउनेबारे पनि छलफल गरेको बताईएको छ । अहिले चार दलको बैठकमा भने माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा सहभागी छन् । जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष माधवकुमार नेपालमात्रै सहभागी छन् । file photo