काठमाडौं, फागुन १३ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता हुने बताएका छन् ।
बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहित चार दलको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनअघि रहेको गठबन्धन ब्युँताउने चर्चा चलेसँगै अध्यक्ष ओलीले सो प्रतिक्रिया दिएका हुन् ।
प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रपतिमा शनिबार एमालेले मनोनयन दर्ता गर्ने जानकारी दिएका थिए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने बेलामा एमाले र माओवादीबीच एमालेले राष्ट्रपति पाउने सहमति भएको दाबी गरे।
पुस १० गते सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति भइसकेकाले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने ओलीको अडान छ ।
नेकपा (एमाले)को सचिवालय बैठक केहिबेरमा बस्दैछ । पछिल्लो राजनीतिक घटना क्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेका ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । गोरखापत्र दैनिकबाट