काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनबहादुर विश्वकर्माले आफ्नो दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुनैपनि हालतमा धोका नदिने स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा दुई तिहाई बहुमत पुर्याउने आफूहरुको तयारी रहेको पनि सुनाए ।
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले यस्तो बताएका हुन् । फागुन २५ गते कांग्रेसले राष्ट्रपति पाएपछि ठूलो दलको हिसाबले कांग्रेसले सरकारको नेतृत्व गर्नसक्ने पनि चर्चा भएको छ भन्ने प्रश्नमा विश्वकर्माले भने–‘विगतमा अप्रत्यासित कुरा भएका हुन् । प्रधानमन्त्री प्रचण्डज्यूको अभिव्यक्तिमा राष्ट्रिय सहमति हुन्छ भन्ने कुरा नै मैले बुझेको छु, उहाँको चाहना भनेको संविधान र व्यवस्था बचाउने हो, त्यो गठबन्धनको पनि चाहना हो । अहिले यही आधारमा अघि बढ्छौं । कांग्रेसले प्रचण्डलाई धोका दिने ठाउँ कहीपनि छैन् । विश्वास नै नहुँदा त विश्वासको मत दियौं भने विश्वासको यात्रा सुरु भएको छ, अब आठ दलको मत हुन्छ । दुई तिहाईको विश्वास अघि पुर्याउने पक्षमा छौं ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनपछि नै सरकारको स्वरुप निर्धारण हुने सुझाए । उनले भने,‘फागुन २५ गतेको राष्ट्रपतिको लागि हुने मतदानको प्रकृतिअनुसार सरकारको स्वरुप निर्धारण हुन्छ । प्रधानमन्त्रीले राष्ट्रिय सहमति गराउँछु भन्नुभएको छ । राष्ट्रिय सहमतिको समय अझै छ । सहमति भएन भने सरकार बनाउने कुरा र भत्काउने कुरा त चलिरहन्छ । यो कुरा अघि एमालेका साथी माधवजीले पनि भन्नुभएको छ, म भन्छु बरु यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाऔं ।’
उनले नेपालको राजनीति चुनावअघि र पछि फर्केर हेर्नुपर्ने पनि बताए । उनले भने–‘प्रधानमन्त्री प्रचण्डजीले भनेपछि कांग्रेसले विश्वासको मत दिएको थियो । हामीले त मत नै दिएको हो नि, विश्वासको मत किन नदिने ?, त्यही भएर मत दियौं । उहाँले त्यही विश्वासको मतको जगमा बसेर राष्ट्रिय सहमति बनाउने प्रयास गर्नुभयो । यो स्वभाविक थियो । राष्ट्रिय सहमति कायम गर्ने कुरा अब फागुन २५ गतेसम्म एमालेको खुट्टामा बल छ । निर्वाचनमा शैक्षिक योग्यता र आफ्नो पार्टीको विशेषता भन्दापनि टाउको गनिन्छ । लोकसेवाले परीक्षा लिने हो भने सुवास नेम्वाङ पास हुनुहोला । तर, राजनीतिक परीक्षामा रामचन्द्र पौडेल नै पास हुनुहुन्छ । सुवास नेम्वाङको उम्मेदवारी फिर्ता गराएर राष्ट्रिय सहमतिको कुरा गरौं । रामचन्द्र पौडेललाई निर्विरोध राष्ट्रपति बनाउनुपर्छ । प्रतिष्पर्धा गर्ने हो कुनै दल प्रतिपक्षमा बस्नुपर्छ ।’