Logo

राष्ट्रपतिको निर्वाचनमा पार्टीले ह्विप जारी गर्छ, त्यसमा तलमाथि हुँदैन् : सोमप्रसाद पाण्डे



काठमाडौं, १४ फागुन ।  नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री सोमप्रसाद पाण्डेले अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर बनेको आठ दलीय गठबन्धन लामो समयसम्म जाने दाबी गरेका छन् । राष्ट्रपतिको निर्वाचनमा पार्टीले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गरिसकेकोले त्यसबाट दायाँबायाँ नहुने पनि उनको स्पष्टोक्ति थियो ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पाण्डेले अहिले राजनीतिमा छिनछिनमै परिस्थिति परिवर्तन भएको उल्लेख गरे । उनले भने,‘यो घट्नाक्रमले यस्तो अवस्था सिर्जना गरेको छ । अरुले होइन । जनतामा केही दोष छैन् । हामी दलका कारण यो भएको छ । गठबन्धनको कुरा छ, हामीले विगतमा स्थानीय तह र संघ रप्रदेशको निर्वाचनमा गठबन्धन गरेको हो । यो आवश्यकत्ताले गरेको हो । गठबन्धनभित्र इमानदारिता रहेन । त्यो नहुँदा हाम्रो २०÷२५ सिट कम भयो, त्यही भएर अहिले तानातानको अवस्था छ । कमजोरी त हामीबाट पनि भएकै हो । यो मुलुकमा संसदको जुनखालको बनावट छ, यसले के देखाउँछ भने राष्ट्रिय सहमतिमा जानैपर्छ भन्ने देखाएको छ ।’

राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमति भएको भए राम्रो हुन्थ्यो भन्ने पाण्डेको भनाई छ । उनले भने,‘यो गठबन्धन लामो समयसम्म जान्छ । यसमा कुनैखालको द्धिविधा नराखे हुन्छ । एमालेबाट माधव नेपाललाई राष्ट्रपतिको प्रस्ताव आएकै हो । तर, समयमा आएन । अन्तिम अवस्थामा केही–केही नेताले चर्चा गरेको हो । एमालेको तर्फबाट लिखित प्रस्ताव आएको होइन । हामी त यता राष्ट्रपतिको निर्वाचन गर्ने अन्तिम टुँगोमा पुगेका थियौं । अब सबै गठबन्धनअनुसार अघि बढ्नुहुन्छ । पार्टीले ह्विप जारी गर्छ । त्यसमा तलमाथि हुँदैन् ।’



प्रतिक्रिया दिनुहोस्