काठमाडौं, फागुन १६ । सर्वोच्च अदालतले जबर्जस्ती करणीजस्तो गम्भीर जघन्य प्रकृतिको मुद्दामा पनि धरौटीमा छाड्न सकिनेगरी सोमबार आदेश गरेको छ। नाबालिका जबर्जस्ती करणीको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछानेले न्यायिक प्रक्रियामा सघाएको, अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेलाडी भएकाले विदेश जानसमेत रोक नलगाउने गरी उच्च अदालत पाटनको आदेश सदर गरेको हो। नाबालिका बलात्कार आरोपित मुद्दामा धरौटीमा छाडिएको सम्भवतः यो पहिलो मुद्दा हो।
न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले जबर्जस्ती करणीको आरोपको प्रमाण नपुगेको भन्दै धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै विदेश जाने बाटो खोलिदिएको हो। गत पुस २८ मा उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो। त्यसै आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामा राख्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेको थियो। त्यसैगरी लामिछानेका तर्फबाट विदेश जान पाउनुपर्ने माग गर्दै अर्को निवेदन पनि दर्ता भएको थियो।
सर्वोच्चले दुवैतर्फका निवेदनमा आंशिक बदर गर्दै आदेश गरेको हो। सर्वोच्चले पीडित गौशाला २६ लामिछानेसँग नगरकोट गएको र काठमाडौंको एक होटलमा आएर सँगै बसेको आदेशमा उल्लेख गरेको छ। नागरिक दैनिकबाट