काठमाडौं, १६ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय प्रक्रिया अनुसार नै विश्वासको मत लिने बताएका छन् ।
‘ज-जसले सरकारलाई विश्वासको मत लिए, तिनले फिर्ता लिएपछि संसदमा सरकारको बहुमत छ कि छैन भनेर स्वतः देखाउनुपर्ने हुन्छ । संसदीय प्रक्रिया र संसदीय नियमावलीका आधारमा प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै प्रधानले भने ।
राष्ट्रपति निर्वाचनले नेपाली कांग्रेसलाई सरकारमा जान नछेक्ने पनि उनले औंल्याए । प्रधानले भने, ‘राष्ट्रपतिको निर्वाचन एउटा प्रक्रिया हो, यसले कांग्रेस वा अन्य दललाई सरकारमा जान रोक्दैन । सरकारप्रति कांग्रेसको विश्वासको मत छँदै छ ।’
एमाले नेताहरुले त प्रचण्डलाई वामपन्थी आन्दोलनको भष्मासुर भन्ने आरोप लगाइरहेका छन् नि भन्ने प्रश्नमा प्रधानले भने, ‘एमालेका नेताहरुले प्रचण्डलाई दोष लगाउँदैमा त्यो पुष्टि हुने आधार छैन । संसदमा कसैको पनि बहुमत छैन । संसदलाई अर्को आवधिक निर्वाचनसम्म लैजान सबै दलबीच एकता अनिवार्य छ । एमालेका साथीहरुले जतिसुकै आरोप लगाए पनि त्यो पानीको फोका जस्तो मात्र हो । त्यो औचित्यपूर्ण छैन ।’ राष्ट्रिय सहमतिका आधारमा रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउनु उपयुक्त हुने पनि उनले औंल्याए ।