Logo

ओलीले चाहँदैमा राष्ट्रपतिको परिणाम उलटफेर हुने देख्दिनँः राजकिशोर यादव (भिडिओसहित)



काठमाडौं, १८ फागुन । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं सांसद राजकिशोर यादवले रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन औपचारिकता पाउन मात्र बाँकी रहेको बताएका छन् ।

‘आठ दलीय गठबन्धनको मतभार एमालेभन्दा ८ हजारले बढी छ । थप मत पाउने आधार पनि तयार छ । त्यस्तो स्थितिमा रामचन्द्र पौडेललाई राष्ट्रपतिमा औपचारिकता दिनमात्र बाँकी हो । एमाले वा केपी ओलीले चाहँदैमा राष्ट्रपतिको परिणाम उलटफेर हुने म देख्दिनँ । अर्को पक्षले त्यसरी नसोच्दा नै उपयुक्त हुन्छ । मूल्य र मान्यता, विचार र सिद्धान्तको राजनीति गर्ने हो भने पौडेललाई मत हाल्नैपर्छ नि,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै यादवले भने ।

आठ दलीय गठबन्धन विदेशी ग्य्रान्ड डिजाइनमा बनेको हो भन्ने नेकपा एमालेका नेताहरुको आरोप छ नि भन्ने प्रश्नमा उनले भने, य’स्ता हल्काफुल्का कुरा गर्न नेताहरूलाई मजा आउँछ कि क्या हो ? यस्ता भाष्यले नेपालको राजनीतिको स्तर गिर्छ । नेपालको विकास नहुनुमा नेताहरुका यस्तै गैरजिम्मेवार अभिव्यक्तिको परिणाम हो । नेताहरुले नै हावा तालमा बोल्नु दुर्भाग्यपूर्ण छ ।’

जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर अध्यक्ष उपेन्द्र यादव बारा २ बाट उपनिर्वाचन लड्न लाग्नुभएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा नेता यादवले भने, ‘तपाईंले ज्योतिषी विद्या पढ्नु त भएको छैन नि ऋषिजी ? जसपालाई उपराष्ट्रपति दिने सहमति भएको हो । तर पार्टीको औपचारिक बैठक नभएकाले को उम्मेदवार बन्छ, अहिले नै भन्न सकिँदैन । हामी इमानदार, निष्ठावान् र पदीय गरिमाको सम्मान गर्ने पात्रलाई नै उम्मेदवार बनाउँछौं ।’

यादवले जसपा विचार र सिद्धान्त मिल्ने दलहरुसँग ध्रुवीकरण, मोर्चाबन्दी र एकताका लागि तयार रहेको पनि बताए । उनले भने, ‘लोसपा र जसपा अहिले एउटै गठबन्धनमा छौं । अब हिजोका तितामिठा कुरा बिर्सेर सकेसम्म सँगै जाने इमानदार प्रयास हुन्छ । हामी लोसपालाई मात्र होइन, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई पनि रेडकार्पेट ओच्छाएर स्वागत गर्न तयार छौं ।



प्रतिक्रिया दिनुहोस्