बखतियार अलि
सर्लाही,फाल्गुन १८ । मलंगवा नगरपालिकाको ३६औं स्थापना दिवस भब्यताका साथ सम्पन्न भएको छ । नगरपालिकाले सर्लाहीको सदरमुकाम मलंगवामा विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो ३६ औं स्थापना दिवस मनाएको हो।
बिहीबार बिहान नगरपालिका कार्यालयको प्राङ्गडबाट कर्मचारी ,जनप्रतिनिधि ,शिक्षक, विद्यार्थी,स्थानीय नगरबासीहरु सहितको नगर र्याली निकालिएको थियो।र्यलीपछि आन्तरिक पर्यटनलाई बढावा दिन नगर प्रमुख नागेन्द्र प्रसाद यादवले नगरको बिच भागमा रहेको जनसागर पोखरीमा संचालनको लागि राखिएको डुँगाको उद्घाटन गरेका छन् ।
त्यसपछि मलंगवाको वडा न-१० स्थित तिनबिघे मैदानमा मेयर तथा प्रमुख प्रशासकीय अधिकृत मैत्रीपूर्ण कप फुटबल प्रतियोगिता, खुल्ला गाग्री फुटाउने प्रतियोगिता र सामुदायिक तथा निजी विद्यालय स्तरीय नृत्य प्रतियोगिताको आयोजना गरि विजेताहरुलाई नगदसहित प्रमाणपत्र वितरण गरिएको छ।
मलंगवा नगरपालिकाले स्थापनाको लामो अवधिमा एकपटक पनि स्थापना दिवस नमनाएकोले नगरप्रमख यादवको अध्यक्षतामा पुर्व मन्त्री रामचन्द्र रायको प्रमुख आतिथ्यता तथा प्रदेश सांसद कौशल किशोर राय,जिल्ला न्यायाधीश र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको विशिष्ठ आतिथ्यतामा विशेष समारोहको आयोजना गरि आफ्नो छुट्टै प्रतीक चिन्ह लोगो सार्वजनिक गरि स्मारिका विमोचन गरेको छ।
यसै अवसरमा नगरपालिकाले आम नागरिक सम्म स्वास्थ्य र सकारात्मक समाचार एवं सूचनाको सम्प्रेषण मार्फत सचेतना प्रवर्द्धन गरि प्रसंशनीयकार्य गरेको भन्दै नगरपालिका स्तरीय मुल्यांकन समितिको छनौट तथा निर्णयअनुसार राष्ट्रिय लोकतन्त्र दैनिकका सम्पादक एवं योहो टेलिभिजन सर्लाही सम्वाददाता मनोज यादवलाई सम्मानपत्र र नगदसहित सम्मानित गरेको छ। नगरपालिकाले स्थापना दिवसको अवसरमा पत्रकार बख्तियार अलीलाई पनि पुरस्कृत गरेको छ। पत्रकार अलीलाई खुल्ला गाग्री फुटाउने प्रतियोगितामा विजेता बने बापत पुरस्कृत गरिएको हो।