काठमाडौं, १९ फागुन । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आज लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुसँग भेटवार्ता गर्ने भएका छन् । राष्ट्रपतिको लागि मत माग्न हिजोबाट घरदैलो अभियानमा रहेका नेम्वाङले आज लोसपाका नेताहरुसँग भेट्न लागेका हुन् ।
सो क्रममा उनले फागुन २५ गते राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा मत माग्ने बुझिएको छ । हिजोमात्रै उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र रास्वपाका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए ।
आजै उनले जनता समाजवादी पार्टीका नेताहरुसँग पनि भेटवार्ता गर्ने तय भएको छ । राष्ट्रपतिको लागि नेकपा (एमाले) बाट नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । उता, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् । file photo