Logo

सुदूरपश्चिम सरकारको पक्षमा मतदान गर्न माओवादी सांसदहरुलाई प्रधामन्त्री प्रचण्डको निर्देशन



काठमाडौं, फागुन २१ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम सरकारका पक्षमा मतदान गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई आज विश्वासको मत दिन सांसदहरुलाई निर्देशन दिइएको स्रोतले जनाएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिदैछन् । दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । प्रदेश सभाको बैठक अगाडी कांग्रेस र माओवादी केन्द्रका छुट्टाछुट्टै संसदीय दलको बैठक अहिले ११ बस्दै छ ।

उक्त बैठकले निर्णय गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ । यसअघि शनिबार बसेको माओवादी संसदीय दलको बैठकले अहिलेकै अवस्थामा कांग्रेस नेतृत्वलाई मतदान गर्न नसकिने जनाएको थियो । कांग्रेसले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग पनि कुराकानी गरेको स्रोतले जानकारी दिएको छ । मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन दुईवटा पार्टीले सर्त राखे पछि शनिबार अबेरसम्म अन्यौल सिर्जना भएको थियो ।

मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते एमाले नेतृत्वमा बनेको राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो । रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री बनेका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्