काठमाडौं, फागुन २२ । सत्ता निकट नौ राजनीतिक दलका शीर्ष नेताको बैठकले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भई अगाडि बढ्ने दृढता व्यक्त गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि नौ दलका नेताद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिममा भनिएको छ,‘‘नेपालको संविधानको सार्थक कार्यान्वयनको क्रममा मुलुक तेस्रो राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा छ । संविधानको रक्षा गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिसम्म पुग्ने विषयमा हामी स्पष्ट र एकताबद्ध छौँ।’
बैठकले गरेका दुई बुँदे निर्णय यस प्रकार छ
१ केही दिनयता जनताको त्याग र बलिदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म एवम् भावना विपरीत भइरहेका केही क्रियाकलापतर्फ हाम्रो ध्यान गम्भीररुपले आकृष्ट भएको छ । संविधानले नचिनेका नदेखेका तथाकथित पदका नाममा गरिने संविधानविपरीतका गतिविधि र तिनलाई सहयोग गर्ने क्रियाकलापहरु लोकतन्त्र विरोधी अवान्छित हुन भन्ने विषयमा हामी एकमत छौं । संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भई अगाडि बढ्ने दृढता व्यक्त गर्दछौं ।
२। केही समययता संक्रमणकालीन न्याय बारेमा उठेका विषयमा हाम्रो ध्यान गम्भीररुपले आकृष्ट भएको छ । शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावना अनुरूप तार्किक निस्कर्षमा पुराउन हामी प्रतिबद्ध छौं । विगतमा सम्बन्धित विषयमा कानून निर्माण र आयोग गठन गरी केही काम सम्पन्न भएको सर्वविदितै छ । यसबारे बाँकी कामहरु अविलम्ब पूरा गरिनेछन् । द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सम्मानित सर्वोच्च अदातलको फैसला बमोजिम कानून बन्ने गरी संसदको यसै अधिवेशनमा प्रस्तुत गरिने छ । कानून निर्माणका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन गरिने छन् । मूलुककै महत्वपूर्ण एजेण्डाका रुपमा रहेको हामी सबैको साझा विषयलाई उचित निस्कर्षमा पुराउन सबैको सकारात्मक भूमिका र सहयोगको अपेक्षा गर्दछौं ।