काठमाडौं, फागुन २२ । राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर उनले पूजाअर्चना गरेका हुन् । नेम्वाङले करिब ४० मिनेट पशुपतिनाथमा पूजाअर्चना गरेका थिए ।
पूर्वसभामुख तथा संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङ नेकपा (एमाले) बाट राष्ट्रपति पदका उम्मेदवार छन् । नेवाङ पशुपति पुग्दा राष्ट्रपतिको निर्वाचनमा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई भेट्न डल्लु पुगेका थिए ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुँदैछ । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सदस्यहरूले राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछन् । उपराष्ट्रपति निर्वाचन चैत ३ मा हुँदैछ ।