काठमाडौ, २४ फागुन । उपराष्ट्रपतिको उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।
पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे सुरु हुने बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयनलगायतका समसामयिक विषयमा छलफल हुने जसपा प्रचार विभागले जनाएको छ । चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।
आठ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भैसकेको छ । जसपानिकट उच्च स्रोतकाअनुसार संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने करिब करिब निश्चित् भैसकेको छ । यादव उपराष्ट्रपतिमा निर्वाचित भए उनको सांसद पद रिक्त हुनेछ ।
उनी निर्वाचित बारा–२ मा भने उपनिर्वाचन हुनेछ । सो क्षेत्रमा अध्यक्ष उपेन्द्र यादव आँफै उपनिर्वाचन लड्ने अन्तिम योजनामा छन् । त्यसको लागि उनले सो क्षेत्रको वार्मअप भिजिट पनि गरिसकेका छन् ।