Logo

यी हुन् राष्ट्रपति चुनावमा अनुपस्थित सांसद



काठामडौं, फागुन २६ । नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा प्रदेश सभातर्फ ३२ जना सदस्यले निर्वाचन प्रक्रियामा भाग लिएनन् । कुल आठ सय ८२ मतदाता रहेको राष्ट्रपति निर्वाचनमा कुल आठ सय ३१ मत खसेको थियो।

सङ्घतर्फ तीन सय १३ र प्रदेशतर्फ पाँच सय १८ मत खसेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिइन् । शर्माका अनुसार प्रदेशतर्फ ३२ जना सदस्यले निर्वाचन प्रक्रियामा भाग लिएका छैनन्। जसमा राप्रपाका २८, नेमकिपाका तीन र जसपाका एक प्रदेश सांसद निर्वाचन प्रक्रियामा सहभागी भएनन्।

राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल मैदानमा थिए । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

उनले नेकपा (एमाले) का नेता सुवास नेम्वाङलाई पराजित गरेर राष्ट्रपतिमा निर्वाचित भएका हुन् । सादगी र खारिएका नेता पौडेलले निर्वाचित हुनुअघि राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षको फरक आफूले देखाउने घोषणा गरेका छन् । उनको घोषणा र राजनीतिक पृष्ठभूमिलाई नियाल्ने हो भने राष्ट्रको अभिभावक मुलुकले सही पाएको छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्