Logo

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्विरोध हुने अवस्था छः जसपा नेता



काठमाडौं, २६ फागुन । जनता समाजवादी पार्टीका प्रभावशाली नेता एवं सांसद राजकिशोर यादवले राष्ट्रपति निर्वाचनले राष्ट्रिय राजनीति नयाँ डिस्कोर्सतर्फ अघि बढेको बताएका छन् ।
‘जनतामा रहेको निराशा, व्यवस्थाप्रति वितृष्णा र नेतृत्वप्रति विश्वास टुटेको अवस्थामा राष्ट्रिय राजनीति नयाँ कोर्समा गएको छ । राष्ट्रपति निर्वाचनमा दलहरुबीचमा आम सहमति निर्माण हुन नसके पनि अधिकतम सहमति कायम भएको छ । यो परिणाम मुलुक सकारात्मक दिशातिर अघि बढ्ने शुभ संकेत हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै यादवले भने ।
जसपा नेता यादवले राष्ट्रपतिमा रामचन्द्र पौडेलको विजयसँगै उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको पनि जित सुनिश्चित भएको बताए । उनले भने, ‘उपराष्ट्रपतिमा गठबन्धनका तर्फबाट हामीले रामसहायप्रसाद यादवलाई अघि सारेका छौं । उहाँ निष्ठावान्, मुलुकप्रतिको अगाध प्रेम भएको र निष्कंलक नेता हुनुहुन्छ । उहाँप्रति सबैको सद्भाव छ । उहाँको नाममा राष्ट्रिय सहमति नै हुने अवस्था छ । मिडिया र व्यक्तिगत सम्पर्कमार्फत एमालेले उपराष्ट्रपतिमा उम्मेदवारी नदिने सूचना पाएका छौं । उहाँलाई निर्विरोध बनाउनु उपयुक्त हुन्छ ।’ उपराष्ट्रपति निर्वाचनपछि सरकार विस्तारको काम अघि बढ्ने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्