Logo

उपराष्ट्रपति जसपाले नै पाउने सहमतीः प्रदीप यादव



काठमाडौं, फागुन २७ । जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले उपराष्ट्रपति आफ्नो पार्टीलाई दिने सैद्धान्तिक सहमति भएको बताएका छन् ।

उनले भने, ‘नयाँ समीकरण बन्ने बेला माघ २८ मा राष्ट्रपति कांग्रेस र उपराष्ट्रपति जसपालाई दिने ‘समझदारी’ भएको थियो । राष्ट्रपतिमा कांग्रेसलाई र उपराष्ट्रपतिमा जसपाका उम्मेदवारलाई सघाउने सहमति अनुसार बालुवाटरमा जारी सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले आजै सैद्धान्तिक निर्णय बाहिर ल्याउदैछ ।’

अहिले बालुवाटरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागी आठ दलको बैठक बसिरहेको र बैठकमा जसपालाई उपराष्ट्रपति दिने विषयमा छलफल भइरहेको उनको भनाई छ ।
पूर्व सहमती अनुसार जसपाले उपपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएकोसमेत उनले बताए ।

बिहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिसकेकाले यसमा दुई मत नै नरहेको सांसद यादवको दाबी छ । रामसहाय प्रसाद यादव हाल जसपाको संसदीय दलको नेता छन् । उपराष्ट्रपति पदका लागि शुक्रबार साँझसम्म सत्ता गठबन्धनबाट तीन जनाको दाबी देखिएको छ ।

जसपाले बिहीबार नै रामसहाय यादवलाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने निर्णय गरेपनि शुक्रबार सत्ता गठबन्धनमा नै रहेका अन्य दुई दल नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले पनि उपराष्ट्रपतिमा आफ्नो दाबी अघि सारेका छन् ।

उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अघि सार्ने तयारी गरेको भए पनि उनको उमेरका कारण उनलाई उपराष्ट्रपति पदमा उम्मेदवार बन्न सहज छैन । उपराष्ट्रपति बन्न ४५ वर्ष उमेर पूरा हुनुपर्छ । जनमत पार्टीले भने शुक्रबार नै ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यता नेकपा (एमाले)ले पनि उपपराष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउन अहिले बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरि सचिवालयको बैठक बोलाएको छ ।

उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदै छ। त्यसका लागि अहिले विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ।



प्रतिक्रिया दिनुहोस्