काठमाडौं, २७ फागुन । वैज्ञानिक समाजवादीका अध्यक्ष विश्वभक्त दुलाल ‘आहुति’ ले अहिले हिजो परिवर्तनका पक्षमा लडेका मान्छेमाथि गतिलो तरबार झुड्याएको टिप्पणी गरेका छन् । उनले परिवर्तनको पक्षमा लडेका आफूहरुलाई सिंहको संज्ञा दिए । र, सिंहहरु जहाँ भएपनि संकटको बेलामा एक ठाउँमा उभिने उनको टिप्पणी छ ।
आज (आइतवार) माओवादी धारले काठमाडौँमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संक्रमणकालीन न्याय नियमित अदालतबाट हेर्न थालेपछि सबै माओवादी एक ठाउँमा उभिएको स्पष्ट पारे ।
उनले भने,‘हामी परिवर्तनका पक्षधरहरुलाई एउटै डालोमा हालेर मुद्दा लगाउने प्रयत्न हुँदैछ । संक्रमणकालीन मुद्दालाई सत्य निरुपणबाट टुंगो लगाउनुपर्नेमा साधारण मुद्दा अन्तर्गत अदालतमा प्रवेश गराइयो ।’ उनले अहिलेको संक्रमणकालीन मुद्दा अदालत वा न्यायाधीशसमक्ष हारगुहार गर्ने विषय नभएको बताए ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम