काठमाडौं, २८ फागुन । उपराष्ट्रपतिको निर्वाचनमा परेको चार जनाको उम्मेदवारी नै कायम रहेको छ । कुनैपनि उम्मेदवारले आज आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । यसअघि एमालेबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्यले अर्का उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी खारेजीको लागि गरेको मागलाई निर्वाचन आयोगले अस्विकार गरिदिएको छ ।
आयोगले रामसहायको उम्मेदवारी कायमै राखेपछि जसपाबाटै उम्मेदवारी दिएकी प्रमिला कुमारी यादवको उम्मेदवारी फिर्ता हुने बताईएको थियो । तर, यही बीचमा एमाले नेताहरुले रामसहायको उम्मेदवारी खारेजीको माग राखेर अदालतसम्म जाने तयारी गरेपछि जसपाले प्रमिलाको उम्मेदवारी कायमै राखेको छ । जसपा नेताहरुले एमाले आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादवप्रति पूवाग्रही बनेको आरोप लगाएका छन् ।
रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त हुने उक्त क्षेत्रमार्फत उपेन्द्र यादव संसद्मा प्रवेश गर्ने तयारीमा छन् । एमालेले भने यादवलाई संसद् प्रवेशमा रोक्नको लागि प्रयत्न गरेको जसपाका नेताहरुको ठम्याई छ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत्र ३ गते हुँदैछ । यो बीचमा एमाले रामसहायको विरुद्धमा अदालत गए र अदालतको फैसला नआएसम्मको लागि अब प्रमिलाको उम्मेदवारी कायमै राखिने जसपाका नेताहरुको दाबी छ ।
सत्ता गठबन्धनका मुख्य घटकहरु कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र जनमोर्चाले भने रामसहायलाई सघाउने भएका छन् । रामसहायको उम्मेदवारी कायमै रहेकोले र भोलि अदालतमा मुद्दा नपरे उनी उपराष्ट्रपतिमा निर्वाचित हुने करिब निश्चित् भएको छ । file photo