Logo

राष्ट्रपति पौडेल आज शीतल निवास प्रवेश गर्दै



काठमाडौं, फागुन २९ । गणतन्त्र नेपालको चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल आज शीतल निवास प्रवेश गर्दै छन् ।

गत बिहीबार राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा ३३ हजार ८ सय २ मतभार पाएर निर्वाचित बनेका पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सोमबार दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ गराउँदै छन् । त्यसपछि राष्ट्रपति पौडेल आजैबाट देशको राष्ट्रपति पदमा आसीन हुनेछन् । संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकिएको छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेलका प्रेस सहयोगी खिला कार्कीले सोमबार दिउँसो १ बजेका लागि शपथको समय निर्धारण भएको जानकारी दिए । ‘सोमबार दिउँसो १ बजे कायममुकायम प्रधानन्यायाधीशबाट राष्ट्रपतिज्यूले पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम छ, त्यसलगत्तै राष्ट्रपतिज्यूले पदभार ग्रहण गर्नु हुनेछ,’ कार्कीले भने ।

संविधानमा राष्ट्रपतिलाई प्रधानन्यायाधीशले पद तथा गोपनीयताको शपथ गराउने व्यवस्था उल्लेख छ । तर, हाल प्रधानन्यायाधीश रिक्त रहेका कारण कामु प्रधानन्यायाधीशले नै शपथ गराउनेछन् ।

संविधानको धारा ७१ मा ‘राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुुनबमोजिम राष्ट्रपतिले प्रधानन्यायाधीशसमक्ष र उपराष्ट्रपतिले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ,’ भनिएको छ ।

पौडेल राष्ट्रपति कार्यालय छिर्दै गर्दा सोमबार नै २०७४ मा निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ हुनेछ । भण्डारीको ‘राष्ट्रपति’ कार्यकाल आइतबारबाट नै सकिएको हो । उनी २८ फागुन २०७४ मा राष्ट्रपति निर्वाचित बनेकी थिइन् । राष्ट्रपति कार्यालयले एकै समयमा नव निर्वाचित राष्ट्रपतिको पदभार र कार्यकाल सकिएर बिदा हुने राष्ट्रपति भाण्डारीको बिदाइ गर्नेगरी तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्